दोश्रो लाङ्टाङ ट्रेल रन जेठ २३ गते

२०८३ बैशाख १०, बिहीबार १२:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आगामी जेठ २३ गते दोश्रो लाङ्टाङ ट्रेल रन हुने रसुवा,नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । रसुवा ,नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दोश्रो लाङ्टाङ ट्रेल रन हुने आयोजक रसुवा,नुवाकोट पर्यटन समाजले बताएको छ ।

पत्रकार सम्मेलनमा आयोजक समाजका अध्यक्ष बलराम न्यौपानेले लामो समयदेखि लाङ्टाङ क्षेत्रको पर्यटन विकास, अध्ययन, प्रचारप्रसार तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको समाजले यसपटक साहसिक खेल पर्यटनलाई केन्द्रमा राख्दै ट्रेल रन आयोजना गर्न लागेको उल्लेख गरे।

विशेषगरी २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने प्रयासस्वरूप विभिन्न कार्यक्रम गर्दै आएको समाजले अब लाङ्टाङलाई अन्तरराष्ट्रियस्तरको साहसिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्याञ्जिङ गोम्पाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुने समाजका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो। समुद्री सतहबाट करिब तीन हजार ८७० मिटर उचाइमा रहेको क्याञ्जिङ गोम्पाबाट सुरु हुने यो दौड लाङ्टाङ गाउँ, घोडातबेला हुँदै स्याफ्रुबेँसीसम्म आइपुग्नेछ।

प्रतियोगितामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । दुवैतर्फका विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै दोस्रोदेखि पाँचौं स्थानसम्म हुनेले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइनमार्फत दर्ता गर्नुपर्ने-प्रमुख आर्थिक सहयोगमा तथा प्रदेश खेलकुद विकास परिषद, नेपाल पर्यटन बोर्ड तथा स्थानीय तहहरूको सहकार्यमा आयोजना हुन लागेको हो ।

यस ट्रेल रनले लाङटाङ क्षेत्रको अन्तरराष्ट्रिय पहिचान मजबुत बनाउने, स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउने तथा साहसिक खेलमार्फत नयाँ सम्भावना खोल्ने विश्वास आयोजकले लिएको छ  ।

कार्यक्रम तालिका यस्तो छ :
जेठ १९ – काठमाडौं–स्याफ्रुबेसी यात्रा तथा बम्बुसम्म पदयात्रा
जेठ २०- बम्बुदेखि लाङटाङ  पदयात्रा
जेठ २१-  लाङटाङदेखि क्याङ्जिन गुम्बासम्म पदयात्रा
जेठ २२-  क्याङ्जिनमा तयारी तथा लेक पचाउने
जेठ २३- मुख्य दौड ९क्याङ्जिन गुम्बा–स्याफ्रुबेसी, ३२ किमि०
जेठ २४- काठमाडौं फिर्ता यात्रा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय