विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पाले १०औँ पटक सगरमाथा आरोहण गर्ने भएकी छन्। नेपाली महिला कुनै पनि कामका लागि पछि हट्दैनन्, भन्ने सन्देश दिन आफुले आरोहण गर्न लागेको बताइन् । सगरमाथा आरोहणका लागि अप्रिल १५ मा कीर्तिमानी आरोहीद्धय एडमन हिलारी र तेन्जिङ शेर्पाले सुरु गरेको बाटो हुर्दै सगरमाथाको चुचुरोमा पुग्ने आरोही लाक्पाले बताइन्।
हिमालमा रहेको फोहोरहरु कम गरी स्वच्छ हिमाल बनाउने काममा आरोहीहरुले पनि भूमिका खेल्न आवश्यक रहेको आरोही लाक्पाको भनाई छ । शेर्पाले १५ जना अमेरिकी आरोहीसहित ३९ जनाको टोली लिएर गाइडको भूमिकामा सगरमाथा आरोहण गर्न जान लागेकी हुन् । नवौं पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाउन सफल सङ्खुवासभा मकालुकी ४८ वर्षीया आरोही शेर्पाको आरोहण सफल भए धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान तोडिने छ ।
सोमबार नेपाल पर्वतारोहण संघले शेर्पालाई झण्डा हस्तान्तरण गर्दै आरोहणका लागि शुभकामनासहित विदाई गरेको छ ।
नेपाल पर्वतारोही संघका अध्यक्ष सान्तवीर लामाले शेर्पाको आरोहणको सफलताको कामना गरेका थिए ।
उनले यसअघि एक पटक नेपालतर्फको बाटोबाट र आठ पटक तिब्बततर्फको बाटोबाट सगरमाथाको आरोहण गरिसकेकी छन् । उनी यो पटक नेपालतर्फबाट सगरमाथा चढ्न लागेकी हुन् ।


