स्पोर्टस एड्भेन्चर टुरीज्म र डेस्टीनेशन प्रमोशन गर्ने उदेश्यले रसुवा नुवाकोट पर्यटन समाजले शनिबार गरेको दोस्रो संस्करणको ‘लाङ्टाङ ट्रेल रन’ २०२६मा पुरुषतर्फ मिलन कुलुङ राई र महिलातर्फ अञ्जुली गुरुङ विजेता बनेका छन्।
लाङटाङको क्यान्जिङ गोम्पाबाट स्याफ्बेसीसम्मको ३२ किलोमिटर २ घण्टा १६ मिनेट ४३ सेकेन्ड मा पूरा गर्दै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ निवासी मिलन कुलुङ राई प्रथम भएका हुन्। बिजयी बनेका राईले गत बर्षको आफ्नै रेकर्ड तोड्दै बिजेता बनेका हुन ,उनले गत बर्ष २ घण्टा २७ मिनेटमा लाङटाङको क्यान्जिङ गोम्पाबाट स्याफ्बेसीसम्मको ३२ किलोमिटर दुरी पार गर्दै बिजेता बनेका थिए ।
प्रतियोगितामा जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का धिरज बहादुर बुढा २ घण्टा १८ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भए भने पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई २ घण्टा २० मिनेट २ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थानमा रहे। त्यसैगरी चौथोस्थान गोपाल तामाङले हासिल गरे भने चन्द्र राउतले पांचौ स्थान हासिल गरे ।

महिलातर्फ काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की अञ्जुली गुरुङले ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै लाङ्टाङ ट्रेल रन’ २०२६ को उपाधि जितिन्। नुवाकोटको शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डसहित दोस्रो भइन् भने अष्ट्रियाकी अन्ना लेना ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थानमा सीमित भइन्। गिता महर्जनले चौथो स्थान ओगट्दा सोनु पौडेलले पांचौ स्थान हासील गरीन ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ। चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।

प्रतियोगिताको उद्घाटनका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ स्वयं हेलीमा क्याङजिन पुगेर लाङटाङ क्षेत्रलाई धार्मीक ,आध्यात्मीक परम्परागत सबै बिधाको प्रर्बदनका साथै स्वास्थयका लागि पनि दौड राम्रो भएको बताउदै ,राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा रसुवा क्याङजिन, लाङटाङ क्षेत्रको प्रबद्र्धन गर्न बाग्मती प्रदेश लागि पर्ने बताए । त्यसैगरी बाग्मती प्रदेशका अर्थ मन्त्री प्रभात तामाङ,पर्यटन मन्त्री सुरेश श्रेष्ठ र सचिव दिपेन्द्र सुबेदीले क्यान्जीङ पुगेर प्रतियोगीहरुलाई शुभकामना दिंदै एड्भेन्चर ,स्पोर्टस टुरीज्मलाई प्रबद्र्धन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने का अनुसार लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र अन्तर्राष्ट्रिय पहिचानलाई थप सशक्त बनाउन ट्रेल रनको दोस्रो संस्करण आयोजना गरिएको बताए । त्यसैगरी बाग्मती प्रदेश सांसद रमेश महत्तर इन्द्र गोतामेले ३२ किलोमिटर दुरी पार गर्दै बिजेता बनेका खेलाडीहरुलाई स्याफ्बेसीमा मेडल तथा नगद पुरस्कार प्रदान गर्दै ट्रेल रनले समग्र आन्तरीक तथा बाह्य पर्यटकहरुको ध्यान तानेको बाताए । प्रतियोगितामा बिदेशी दुई जना सहित १ सय ६ जना महिला, पुरुषहरु सहभागि रहेका थिए ।



