चलचित्र पत्रकार संघ नेपालको मिति २०७५ जेठ २ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार २०७५’ को घोषणा गरेको छ ।
नेपाल पत्रकार महासंघका पुर्व सचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साल र चलचित्र पत्रकार संघ नेपालका पुर्व उपाध्यक्ष तथा हाल रमाईलो टिभीका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्यलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
चलचित्र पत्रकारितामा र्पुयाएको योगदानको कदर गर्दै संघले लम्साल र पाण्डेलाई सम्मान गर्न लागिएको हो ।
संघले संघका पुर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।
फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पछिल्लो समय रंग पत्रकारितामा सक्रिय दाहाललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो ।
प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।
आगामी जेठ ७ मा हुने १९ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरीने गरीनेछ ।


