दश जना महिला चलचित्रकर्मी सम्मानीत

२०८२ चैत्र २१, शनिबार ०६:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डले दश जना महिला चलचित्रकर्मीहरुलाई सम्मान गरेको छ । चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव गर्दे बोर्डले सम्मान गरेको हो । नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १० जना महिला चलचित्रकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको हो ।

सम्मानित हुने १० महिला चलचित्रकर्मीमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, चलचित्र पत्रकार रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ रहेका थिए। सम्मानीत हुने दश जनालाईनै नगद रु २५ हजार सहित प्रदान गरीएको हो । बिगत ३ बर्षदेखि महिला चलचित्रकर्मीहरुलाई चलचित्र बिकासबोर्डले सम्मान गर्दे आएको छ ।

शुक्रबार चलचित्र विकास बोर्ड हलमा सम्पन्न भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले सम्मानीत महिला चलचित्रकर्मीहरुलाई सम्मान प्रदान गर्दै चलचित्र क्षेत्रमा महिलाहरुको उल्लेख्य योगदान रहेको बताउनु भयो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व बसुन्धरा भुसाल र चैत्यदेवी सिंह को उपस्थिति रहेको थियो। त्यस्तै चलचित्र विकास बोर्डका पदाधिकारी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरू, चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो।

समापन समारोहमा महिला कलाकारद्वारा नेपाली नौमति बाजासहित कार्यक्रमलाई उल्लासमय बनाइएको थियो। गायिका देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाल लगायतका कलाकारहरूले गीत प्रस्तुत गरेका थिए।चलचित्र ‘कुमारी’ का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी।सीले कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै ध्न्यवाद ज्ञापन गरेका थिए । चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव भने बोर्डले तिन दिनसम्म बिभिन्न चलचित्र सम्बन्धी कार्यक्रमहरु गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय