अभिनेता भुवन केसीले ९ वर्षपछि फिल्म बाटुलो जुन निर्देशन गर्ने भएका छन् । आफ्नै छोरा अनमोल केसीलाई नायकको रुपमा लिएर फिल्म ‘बाटुलो जून’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मका कलाकारदेखि निर्माता(निर्देशकले स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गर्दै काठमाडौंमा छायांकनको औपचारिक सुरुआत गरे । यसअघि धादिङको नौबिसेमा फिल्मका केही दृश्य खिचिएको थियो ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल केसी, नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ । नेन्सी र प्रिन्सीमा अनमोलको जोडी कोसँग बाँधिनेछ भन्नेबारे जानकारी गराइएको छैन । फिल्ममा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना लगायतको पनि अभिनय रहनेछ ।

पछिल्लो पटक ‘ड्रिम्स’ निर्देशन गरेका भुवनले ‘बाटुलो जून’ ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए । उनले भने, ‘कतिपय कथा आफूले खोजिन्छ । कतिपय कथाले हामीलाई खोज्छन् । ‘बाटुलो जून’ हामीलाई खोज्दै आएको कथा हो ।
त्यस्तै, अनमोलले बुबा ९भुवन केसी०ले ‘चिनो’, ‘सम्झना’, ‘कुसुमे रूमाल’ जस्ता फिल्ममा निभाएको भूमिका र ती फिल्महरूमा देखिएको लुक्समै आफू प्रस्तुत हुन लागेकाले बुबाकै विरासत धान्ने गरि फिल्ममा जोडिएको बताए । उनका अनुसार फिल्ममा लवज, भाषा र पहिरनसहित धेरै कुरा भिन्न तरिकाले प्रस्तुत हुनेछ । फिल्मको पात्रका लागि उनले जुँगा पालेका छन् ।
जीया केसी र भविष्य खड्का निर्माता रहेको फिल्मको छायांकन काठमाडौंसँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा ४५ दिनसम्म हुनेछ । फिल्ममा तेजबिक्रम केसी कार्यकारी निर्मातामा छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । यसमा छायांकन राजेश श्रेष्ठको रहनेछ । फिल्मका गीतमा रेनशा वान्तवा राईले कोरियोग्राफी गर्नेछिन् ।


