राष्ट्रियसभा सदस्यको पदावधि गोलाप्रथाबाट टुंगो लागेको छ ।
संविधानको धारा ८६ अनुसार गोलाप्रथाविधिद्वारा राष्ट्रियसभाका ५९ सदस्य मध्ये क–कसको कार्यकाल कति वर्षको हुने भन्ने टुङ्गो लागाइएको हो ।
जस अनुसार १९ जना सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल कायम भएको छ । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था अनुरुप गोलाप्रथाबाट पदावधि टुंगो लगाइएको हो ।
राष्ट्रियसभा सदस्यको पदावधि छिनोफानो हुँदै गर्दा बाँकी रहेको कार्यकालमा अब फेरि कसरी सदस्य चयन गर्ने र राष्ट्रियसभा सदस्यभएकाहरु मन्त्री बनेको र उनीहरुको पद के हुन्छ भन्ने धेरैको चासो रहेको छ ।
नेपालको संविधानको धारा ८६ को उपधारा ५ बमोजिम रिक्त हुन आउने पदमा निर्वाचन वा मनोनयन जुन तरिकाले सदस्य बनेका थिए त्यसै तरिकाबाट बाँकी अवधिका लागि फेरि सदस्य पूर्ति गर्न सकिने प्रावधान छ ।
अहिले राष्ट्रपतिबाट मनोनित भएका एक जना राष्ट्रियसभा सदस्य सरकारको मन्त्री छन् । राष्ट्रपतिबाट मनोनित डा.युवराज खतिवडा अर्थमन्त्री हुनुहुन्छ ।
गोलाप्रथाबाट डा.खतिवडाको पदावधि जम्मा २ वर्षको लागि कायम भएको छ । राष्ट्रपतिबाट मनोनितको समूहबाट पहिलो गोला तान्ने मौका नै डा.खतिवडाले पाउनुभएको थियो । उहाँले दुई वर्षको गोला तान्नुभयो । राष्ट्रियसभा सदस्यका लागि डा.खतिवडाको पदावधि २ वर्ष मात्रै भएपछि उहाँको मन्त्रीको कार्यकाल समेत २ वर्षको मात्रै हुने भएको छ ।
तर राष्ट्रपतिबाट मनोनित हुने उहाँको बाटो बन्द भएको छैन । सरकारले फेरि पनि उहाँलाई नै मनोनितका लागि राष्टपति समक्ष सिफारिस गर्न सक्छ ।
यो अवधिमा डा.खतिवडाको कार्यकाललाई मूल्यांकन गर्दै मनोनितका लागि सिफारिस गरे फेरि पनि उहाँ नै मन्त्री हुने बाटो यथावत छ । तर उहाँको सट्टामा सरकारले अर्को नाम सिफारिस गरे डा.खतिवडाले मन्त्री पदबाट पनि बिदा लिनुपर्ने हुन्छ ।