अभिनेत्री रेखा थापाले आफ्नै निर्देशनमा फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु गरेकी छन् । सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको सुटिङ सुरु गरिएको हो। फिल्मको निर्माण घोषणा गत फागुन ३ गते महाशिवरात्रिको अवसरमा गरिएको थियो। ‘हिम्मतवाली’ र ‘मालिका’ फिल्म निर्देशन गरिसकेकी रेखा थापा करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्।
‘दिया एण्ड अमु फिल्म्स’को ब्यानरमा फिल्म ‘माया भनेकै यस्तो होला’बन्दैछ ।
फिल्ममा नेपाली कला क्षेत्रका वरिष्ठदेखि समकालीन चर्चित कलाकारहरूको टोली देखिनेछ। मदनकृष्ण श्रेष्ठ र लामो समयपछि फिल्ममा फर्किएका दिल श्रेष्ठ मुख्य भूमिकामा छन्। फिल्ममा अभिनेत्री सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह ९मिस नेपाल इन्टरनेसनल०ले प्रमुख भूमिका निर्वाह गर्दैछन्। दिया एण्ड अमु फिल्म्स’को ब्यानरमा निर्माण हुने फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।
फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन्। सुमधुर प्रेम कथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने फिल्मको कथा ध्रुव लम्सालले लेखेका हुन्। प्रोडक्सन हेडसीएम भारद्वाज ९सुवेदी०का अनुसार फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु गर्ने योजना भए पनि चुनाव र अन्य परिस्थितिका कारण केही दिन ढिलाइ भएको हो। फिल्मको छायांकन काठमाडौं आसपासका विभिन्न स्थानमा करिब एक महिनासम्म चल्नेछ।
फिल्मका डिओपी सुदीप बराल हुन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा छन्। फिल्ममा राजन घिमिरे फिल्म कोअर्डिनेटर छन्। साथै प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहनेछ। निर्माण टिमले फिल्मलाई आगामी वर्षको तीजको अवसर पारेर देशभर प्रदर्शन गर्ने लक्ष्य राखेको छ।


