चलचित्र निर्माता संघको नयाँ कार्यसमितिका लागि सोमबार सम्पन्न निर्वाचनमा उदय सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका छन्।
संघको १९ औं वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनमा सुब्बाले प्रतिस्पर्धी सुनिलकुमार थापामाथि २६ मतको अन्तरले विजय हासिल गरेका हुन्। सुब्बाले १५३ मत प्राप्त गर्दा थापाले १२७ मत पाएका थिए।
महासचिव पदमा खगेन्द्र लामिछाने विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी किरण नेपालीलाई पराजित गर्दै १५२ मत ल्याए भने नेपालीले १२५ मत पाएका थिए। सचिवमा युवराज गिरी १५९ मतसहित निर्वाचित भए। उनले किसान पोखरेललाई हराए, पोखरेलले ११२ मत प्राप्त गरेका थिए।
उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पद भने सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिए भने कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भए।
९ सदस्यका लागि ७ जनाले मात्र उम्मेदवारी दिएपछि सबै सर्वसम्मत घोषित गरिएको निर्वाचन अधिकृतले जानकारी दिए। सदस्यमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित सर्वसम्मत बनेका छन्।


