पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाको समूहले भने काठमाडौँ उपत्यका नजिकै लतिलपुरको लाकुरी भञ्ज्याङमा ‘द टेरेसेस रिसोर्ट एण्ड स्पा’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । रिसोर्टमा शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नी समूहको रू एक अर्ब लगानी भएको छ ।
ललितपुरको ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको रिसोर्टबाट विभिन्न हिमशृङ्खला हेर्न सकिन्छ । जहाँ बस्नका लागि १० वटा भिल्ला छन् । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले अतिथिलाई अग्र्यानिक खाना खुवाउने उद्देश्यले आफैले तरकारी र केही फलफूल खेती पनि गरेको छ ।
रिसोर्टमा दुई वटा स्वीट रुम छन् भने १६ वटा डिलक्स र २८ वटा स्यान्डर्ड गरी कूल ४६ रुम छन् । जसमा स्वीटरुमको प्रतिदिन रु ५९ हजार, डिलक्सको प्रतिदिन रु ३० हजार र स्टयान्डर्ड रुमको प्रतिदिनज रु २५ हजार पर्छ ।
अतिथिलाई प्रकृतिको अवलोकनका साथै मनोरम दृश्यावलोकन गराउने उद्देश्यले रिसोर्टलाई फरक ढङ्गले निर्माण गरिएको रिसोर्टका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले बताए ।
होटल संघ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यता दिलाउन आफूहरु प्रयास गरिरहेको उनको भनाइ छ । रिसोर्टमा लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हेलिप्याड निर्माण गरिएको छ ।


