सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नेबारे छलफल थालेको छ ।
जेन–जी आन्दोलनबारे जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै सरकार पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्नेबारे छलफलमा जुटेको हो ।
वालेन्द्र शाह ९बालेन० प्रधानमन्त्री भएपछि बसेको मन्त्रिपरिषद बैठकको पहिलो निर्णयअनुसार सरकारले ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफल थालेको सुरक्षा र रास्वपा स्रोतले जानकारी दिएको हो ।
गृहमन्त्री सुधन गुरुङ पनि सुरक्षा निकायका प्रमुखसँग परामर्शमा रहेको स्रोतले जनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गत २३ र २४ भदौको जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लाने निर्णय गरेको थियो ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिस गरेको थियो । आयोगले ओली, लेखक र खापुङलाई १० वर्ष कैद हुने कसुरमा अनुसन्धान गरी कारबाही गर्नुपर्ने सुझाव दिएको छ ।
सरकारले सुरक्षा निकायका हकमा अध्ययन गर्न समिति गठन गर्ने र अन्यको हकमा भने सिधै प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।


