चर्चित म्यूजिक भिडियो निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ३२ दिनमा चलचित्रको सोमबार सुटिङ सकिएको हो । निर्माता अर्जुन कुमारले अब चलचित्रको एक गीत खिच्न बाँकी रहेको बताए । चलचित्रको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई घोषणा गरिएको छ ।
चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा(महेश र सुपुष्पा(प्रतिकको जोडी बाँधिएको छ । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको हो । त्यस्तै, निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि चलचित्र ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि निर्माता अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक चलचित्र बनाउँदैछन् ।


