विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने ‘कान्स फिल्म फेस्टिभल–२०१९’मा नेपालले पनि सहभागीता जनाउने भएको छ । ७२ बर्ष लामो इतिहास बोकेको विश्वकै ठूलो यो फेस्टिभलमा नायिका प्रियंका कार्कीले पहिलो नेपाली नायिकाको रुपमा सहभागीता जनाउँदै छिन् ।
यो फेस्टिभल मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा जारी छ । मे २५ सम्म यो महोत्सव चल्नेछ । महोत्सवमा हलिउडकी नायिका सेलेना गोमेजदेखि बलिउडका नायिकाहरु प्रियंका चोपडा, दिपिका पादुकोण, कंगना रनावत, ऐश्वर्या राय, हुमा कुरेसी लगायतले सहभागीता जनाइरहेका छन् ।
पहिलो पटक विश्वकै ठूलो महोत्सवमा सहभागीता जनाउन लागेकी नायिका कार्की यो कुराले निकै नै खुशी छिन् । उनलाई अप्रिल महिनामा नै यो प्रस्ताव आइसकेको थियो । कार्कीले अनलाइनखबरसँग उत्साहित हुँदै भनिन्–‘मलाई कान्सको टिमबाट नै निमन्त्रणा आएको हो । यहाँ आफै प्रवेश पाइदैन । कान्सका सदस्य नै मलाई भेट्न आउनुभएको थियो । मेरो इन्स्टाग्रामको सक्रियता हेरेपछि उहाँहरुले मलाई निमन्त्रणा गर्नुभयो ।’
प्रियंकाले भनिन्–‘यो मेरा लागि मात्र होइन, नेपालकै लागि पनि महत्वपूर्ण छ । किनकी, त्यहाँ म कुनै नेपाली चलचित्रको शोमा मात्र उपस्थित हुन लागेकी होइनँ । म मे २० देखि मे २४ सम्म हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछु ।’
प्रियंका आज बेलुकी फ्रान्स उड्दैछिन् । उनी भोली नै रेड कार्पेटमा उपस्थित हुनेछिन् । प्रियंकाले भनिन्–‘भोली त म रेड कार्पेटमा मात्र हिड्नेछु । यसपछि पिस नाइट नामक एउटा कार्यक्रम हुँदैछ । जसलाई माइकल ज्याक्सनको परिवारले स्थापना गरेको फाउन्डेशनले आयोजना गर्दैछ । यसमा आफ्नो देशको संकृती झल्कने पहिरनमा प्रस्तुति हुनेछ । म यो कार्यक्रममा नेपाली कल्चरलाई विश्वमाझ चिनाउने प्रयास गर्नेछु ।’
प्रियंकाले आफ्नो उपस्थिती ‘रोयल गाला डिनर’मा पनि हुने बताइन् ।
नायिका कार्कीले आफू यो महोत्सवमा सहभागी हुन पाउँदा अत्यन्तै उत्साहित भएको बताइन् । गतबर्ष अन्जली लामाले यो फेस्टिभलमा सहभागीता जनाएकी थिइन् ।


