मानव बेचबिखन,ओसारपसार अभियोगमा मुद्दा खेपिरहेका गौतमलाई ‘रेड नोटिस’

२०७६ बैशाख १४, शनिबार ०८:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले कलाकार तथा आप्रवासी नागरिक सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’’ जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको विशेष अनुरोधमा इन्टरपोलले बिहीबार गौतमविरूद्ध ‘रेड नोटिस’ जारी गरेको हो।

मानव बेचबिखन तथा ओसारपसार अभियोगमा दुई वर्षयता मुद्दा खेपिरहेका गौतमलाई पक्राउ गर्न आवश्यक देखिएकाले उनीविरूद्ध इन्टरपोलले ‘नोटिस’ जारी गरेको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ।

‘मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरी अनुसन्धान गर्नुपर्ने देखिएकाले नेपाल प्रहरीले इन्टरपोललाई अनुरोध गरेको थियो,’ प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सेतोपाटीसँग भने, ‘नेपाल प्रहरीले अनुरोध गरेपछि इन्टरपोलले गौतमलाई पक्राउ गर्न नोटिस जारी गरेको हो।’

संयुक्त राष्ट्रसंघ अन्तर्गत इन्टरपोलको सदस्य नेपालसहित १९२ राष्ट्र छन्। इन्टरपोलले सूचना जारी गरेपछि युएन सदस्य राष्ट्रहरूबीचमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्नैपर्ने बाध्यकारी नियम छ।

नेपाल प्रहरीका अनुसार गौतमलाई पक्राउ गर्न इन्टरपोलले सदस्य राष्ट्रहरूमाझ पत्राचार गरिसकेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गौतम अहिले क्यानडाको टोरन्टो सहरमा रेस्टुरेन्ट चलाएर बसिरहेको जानकारीमा आएको छ।

गौतमविरूद्ध २०७४ सालमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा लागेको थियो। नेपालका तीन जना महिलालाई अमेरिका लैजाने भन्दै गौतमले करोडबढी रुपैयाँ असुल गरेको आरोप छ।

कलाकारको भेषमा अमेरिका लगेर काम लगाउने भन्दै गौतमले उनीहरूलाई दुई वर्षभन्दा बढी बैंकक, मलेसिया, सिंगापुर, दिल्ली, रसिया, कोलम्बियालगायत विभिन्न देशमा अलपत्र पार्दै नेपाल फर्काएको आरोप छ। गैरकानुनी बाटोबाट अमेरिका लैजाने क्रममा एक महिलाको बाटोमै मृत्यु पनि भएको थियो।

गौतमले अमेरिका ट्रान्जिट गराउने क्रममा समुद्र पार गर्दा काठमाडौं–१४ की सुमित्रा कुँवर कटुवालको मृत्यु भएको थियो। कटुवालको शव बेपत्ता पारेको अभियोग गौतममाथि रहेको छ ।

कटुवालसँगै अमेरिका लगिएका सुर्खेतका पुष्पा चन्द र जसोदा चन्दले २०७४ पुसमा नेपाल आएर महाशाखामा निवेदन दिएका थिए।

चन्दद्वय र कटुवाल हाइटी हुँदै पार्ट अबेबाट पोल्भो जाने भनी पानीजहाजमा चढेका थिए। पानीजहाजको इन्जिन बिग्रिएपछि उनीहरू लामो समय समुद्रमै हराएका थिए। यही क्रममा कटुवालको मृत्यु भएको थियो। चन्दद्वय अमेरिका पुग्ने समुद्री क्षेत्र नजिक बहमासको एनगोबा टापुमा अचेत अवस्थामा फेला परेका थिए।

उनीहरूलाई त्यहाँको प्रहरीले उद्धार गरी बहमासको राजधानी नासाउ पुर्याएको थियो। अस्पताल भर्ना गरी प्रहरीले उनीहरूलाई अमेरिकाको नेपालस्थित दूतावासमा खबर पठायो। दूतावासले कयुवा हुँदै चन्दद्वयलाई नेपाल फर्काएको थियो। नेपाल आएपछि चन्दद्वयले गौतमविरूद्ध मुद्दा दायर गरेका थिए।

गौतम चार वर्षअघि नेपालमा देखा परेका थिए। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘हिम्मतवाली’मा उनले प्रमुख भूमिकामा अभिनय गरेका थिए। निर्माता तथा तत्कालीन पति छबिराज ओझासँग खटपट भएपछि नायिका रेखा थापाले उक्त फिल्म निर्माण गर्दा सुदर्शन रेखासँगै प्रमुख भूमिकामा देखिएका थिए।

गौतमको स्थायी घर रामेछाप भदौरे १ गुन्छी हो। उनी पहिले काठमाडौं ३२ कोटेश्वर बस्थे।

सुदर्शन अपाङ्गता भएका व्यक्ति हुन्। उनका दुबै हात छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय