‘अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७४’ बाट वरिष्ठ गीतकार कालीप्रसाद रिजाल सम्मानित भएका छन् ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गीतकार संघ नेपालले रिजाललाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति डा.रामवरण यादवले रु १ लाख १ रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाएर गीतकार रिजाललाई सम्मान गरेका थिए ।
त्यसैगरी गीतकार संघ नेपालले यस वर्षको वर्षगीत पुरस्कारबाट गीतकार सुमन वैरागी र गीतकार पवित्रा राईलाई सम्मान गरेको छ ।
बैरागीको ‘प्रवासको पीडा भित्र’ र राईको ‘अभिनय गर्दै’ बोलको गीतले वर्ष गीत पुरस्कार जित्न सफल भएको हो ।

संघले केही समयअघि सार्वजनिक गरेको उत्कृष्ट दशभित्रको सूचिमा अम्बिका गुरुङ (आँखा लाउँछन्), किरण केसी क्रोधी (कुनै दिन यी दृष्टि), गणेश श्रेष्ठ ‘अपेक्षा’ (आफू उभिएको), नूतन भुसाल (सुटुक्कै मनमा), प्रकाश केसी (रगत पनि), पवित्रा राई (अभिनय गर्दै), वसन्तराज अज्ञात (सपनीमा घरी घरी), डा.राजु बाबु श्रेष्ठ (सम्पत्ति दिएँ), राजु थापा (भीरै माथि) र सुमन बैरागी (प्रबासको पीडा) रहेका थिए । उत्कृष्ट दशभित्रबाट दुई स्रष्टालाई रु. ५१ हजार राशिको यो पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै, गीत पुस्तक पुरस्कारबाट जानुका राई र सुमन श्रापित सम्मानित भएका छन् । रु. ५१ हजार नगद राशिसहितको यो सम्मानबाट राईको ‘आमा’ र श्रापितको भावनाको खेती सम्मानित भएको हो ।
यस वर्षको वर्ष गीत पुस्तकतर्फ जानुका राईको आमा, पूर्ण बहादुर साउद ‘शिरिष’को गजलको धून र सुमन श्रापितको भावनाको खेती उत्कृष्ट तीनभित्र परेका थिए ।
यसैगरी अमेरिकामा बस्दै आएकी गीतकार राखी गौचन ’डायस्पोरा गीतकार’को रुपमा सम्मानित भइन् । पुरस्कारको राशी ११ हजार नगद छ । पूर्व राष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यतामा वरिष्ठ गीतकार किरण खरेल, रत्नशमशेर थापा, यादव खरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा, एसपी कोईराला लगायतको आतिथ्यता रहेको थियो । संघका अध्यक्ष चुडामणी देवकोटाको सभापतित्वमा भएको कार्यक्रमलाई गोविन्द गिरीले संचालन गरेका थिए ।


