अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रिया बारे बोर्डको गम्भीर ध्यानाकर्षण

२०७६ असार ३१, मंगलवार ०६:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अभिनेता सरोज खनालले दिएको प्रतिक्रिया र पोष्ट गरेको फोटोप्रति चलचित्र विकास बोर्डले आपत्ती जनाएको छ । साथै प्रेस बिज्ञप्पी जारी गरेको छ । बिज्ञप्ती यस प्रकार छ ।

२०७६ असार ३० गते सोमबार ः चलचित्र विकास बोर्डले यही २०७६ असार २७ गते शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोहको बारेमा अभिनेता सरोज खनालको फोटो र फेसबुक प्रतिक्रिया बारे चलचित्र विकास बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सभा हलमा कार्यक्रम प्रस्तुत गर्ने क्रममा त्यहाँ रहेको शौचालयमा बसेर व्यङ्ग्यात्मक शैलीमा फोटोसेशन गरेर सामाजिक सञ्जालमा पोष्ट गरी लेख्नु भएको स्टाटस र त्यसपछि विभिन्न सञ्चार माध्यममा आएको समाचार बारे बोर्ड निम्न कुरा प्रस्ट पार्दछ ।

१. राष्ट्रपति भवनको सभा हलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेशन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो ठहर छ ।

२. पुरस्कार समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरिएको र नृत्य प्रस्तुत गर्नुभन्दा आधा घण्टा अघि तयारीका लागि कलाकारहरु मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको जानकारी गराउँदछौं । शौचालयमै बस्नु पर्ने गरी कुनैपनि कलाकारलाई असुविधा नभएको पनि बोर्ड स्पष्ट पार्न चाहन्छ । साथै, कार्यक्रम अवधिभर कुनैपनि कलाकारले प्रतीक्षा कक्षमा बसिरहनु पर्ने बाध्यता नरहेको बोर्ड स्पष्ट पार्दछ । नृत्य सकिनासाथ सम्पूर्ण कलाकारलाई सभा हलमै बसेर कार्यक्रम हेर्ने व्यवस्था मिलाईएको र उहाँहरुले पनि हलमै बसेर कार्यक्रम हेरेको पनि बोर्ड स्पष्ट पार्दछ ।

३. कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य प्रस्तुत गर्ने सम्पूर्ण कलाकारहरुलाई कुनै असुविधा नहोस् भनेर बोर्डका अधिकृत तहका ४ जना कर्मचारी सहित १० जना कर्मचारी उहाँहरुको सेवामा रहेको र उहाँहरुलाई सोक्रममा खाजासँगै आवश्यक पिउने पानी समेत उपलब्ध गराएको स्पष्ट पार्दछ । सो क्रममा कर्मचारी पनि कलाकारहरुसँगै प्रतीक्षा कक्षमै थिए । अभिनेता खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर तत्क्षण सँगै रहेको बोर्डका कर्मचारीलाई कुनैपनि गुनासो नगरेको बोर्ड स्पष्ट पार्दछ ।

४. राष्ट्रिय चलचित्र पुरस्कारको सम्पूर्ण कार्यक्रम चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको र राष्ट्रपति कार्यालयबाट कार्यक्रम हल एवम् समय मात्र उपलब्ध गराइएकाले त्यहाँ भएका सबै कार्यको जिम्मेवारी बोर्डको रहेको जानकारी गराउँदछ । तसर्थ, यो विषयसित राष्ट्रपति कार्यालयको कुनै सम्बन्ध नरहेको सम्पूर्ण सञ्चार माध्यमलाई अनुरोध गर्दछ ।

५. सम्पूर्ण सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारहरुलाई कुनै कमी कमजोरी भएको भए बोर्ड क्षमा चाहन्छ । र, आगामी दिनमा पुरस्कार समारोहलाई अझ परिस्कृत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय