आकाश अधिकारी नेतृत्वको चलचित्र निर्माता संघ र नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघ नेपालबीच एकीकरण भएको छ । बुधबार दुई संघका अध्यक्षबीच नौं बुँदे सहमतीसँगै एकीकरण भएको चलचित्र निर्माता संघका महासचिव रोज राणाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । एकतापछि दुबैले नेपाली फिल्म क्षेत्रको विकासमा एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल चलचित्र निर्माता संघमा लाखौं रुपैयाँ हिनामिना गरिएको, नेपाली फिल्मका निर्माताको हकमा संघले काम नगरेको, संघलाई पूर्ण निश्क्रिय तुल्याएर अस्तित्व मेट्ने तयारी गरिएको जस्ता विभिन्न कारण देखाउँदै राजकुमार राई अध्यक्ष रहेको बेला नवलले आफ्नो अध्यक्षतामा नयाँ निर्माता संघ गठन गरेका थिए ।
नवलको संघले राख्दै आएका एजेन्डा र मागलाई आकाश नेतृत्वको निर्माता संघले सम्बोधन गरेपछि दुई संघबीच एकीकरण भएको हो । नेपाल निर्माता संघको चैत २ मा सम्पन्न हुने १५औँ वार्षिक साधारणसभा अगावै चलचित्र निर्माता संघ नेपालको दर्ता खारेज हुने जारी विज्ञप्तीमा उल्लेख छ । नवलको संघले तोकेको तीन निर्मातालाई अधिकारी नेतृत्वको संघको विधानअनुसार कार्यसमिति सदस्य पदमा मनोनीत गरिने सम्झौता भएको छ ।


