चर्चित युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा नेपाली फिल्ममा डेब्यु गरेका छन् । उनकै लेखन रहेको फिल्म ‘शुभ लभ’ को राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ ।
ज्योतिष अधिकारीको अपोजिटमा मिस टिन २०१७ की विजेता कृष्टिन पौडेल र डा. सुर्य थापा रहनेछन् । भाद्र १५ गतेबाट फ्लोरमा जाने फिल्मको प्रदर्शन मिति चैत १५ गतेलाई तोकिएको छ ।
बुद्ध इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्तामा प्रदीप उदय छन् । सन्तोष बाबु लोहरीले निर्देशन गर्ने ‘शुभ लभ’ लभस्टोरी कमेडी जनरामा निर्माण हुने बताइएको छ ।
यो फिल्ममा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोलालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
‘शुभ लभ’ बाट नायकको रुपमा डेब्यु गर्न लागेको युवा ज्योतिष अधिकारीले फिल्मको कथा आफ्नो प्रोफेसनलाई मिल्ने खालको रहेको बताए ।

