पुनम कलीले जितिन” मिस हात्ती सुन्दरी २०८२ “को उपाधी

२०८२ पुष १२, शनिबार १६:१७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

चित्तवन सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ मा पुनम कलीले मिस हात्ती सुन्दरी २०८२को उपाधी जितेकी छन । दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि ४० वर्षीया पुनमकलीले चार वटा हात्तीलाई पछि पार्दै ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि जितेकी हुन् । होटल लेण्डमार्क पोखरासँग आबद्ध पुनमकलीले कुल ३०० पूर्णाङ्कमध्ये २५० अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन् ।

महोत्सवका सह–आयोजक संस्था युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका व्यवस्थापक विनोद तिमिल्सेनाले प्रतियोगितामा सेल्फीकली, चम्पाकली, पूजाकली र समृद्धिकली सहभागी भएको जानकारी दिए ।

प्रतियोगितामा होटल गौतम बर्दिवाससँग आबद्ध २० वर्षीया हात्ती सेल्फीकलीले २३५ अङ्क ल्याएर दोस्रो स्थान हासिल गरिन् भने हेरिटेज ट्राभल काठमाडौँसँग आबद्ध ३५ वर्षीया हात्ती चम्पाकलीले २२४ अङ्क प्राप्त गर्दै तेस्रो भइन् ।

यसैगरी, होटल श्रीनगर पाल्पासँग आबद्ध ४० वर्षीया पूजाकली चौथो र हिमालय सोसल जर्नीसँग आबद्ध २६ वर्षीया समृद्धिकलीले पाँचौँ स्थान हासिल गरिन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार प्रतियोगितामा हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, सुन्दरता, सजावटसँगै हात्ती र माउतेबीचको सम्बन्ध, हात्तीको स्वास्थ्य अवस्था तथा हेरचाहको स्तरको मूल्याङ्कन गरिन्छ । सोही आधारमा सुन्दरी हात्ती छनोट गरिने उहाँले जानकारी दिए ।

क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित जिल्लाको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव आयोजना हुँदै आएको छ । महोत्सव तीन दिनसम्म सञ्चालन हुनेछ । सौराहास्थित बाघमारा चौरमा जारी महोत्सवमा रत्ननगर नगरपालिका संरक्षक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय