आगामी पुस ११ देखि १५ सम्म ‘१८औं चितवन हात्ती तथा पर्यटन महोत्सव’ हुने भएको छ ।
सफारी पर्यटन प्रवर्द्धनका साथै चितवनलाई महत्त्वपूर्ण पर्यटन गन्तव्य स्थलका रूपमा चिनाउने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्षेत्रीय होटल संघ चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सहआयोजनामा सौराहामा महोत्सव गर्न लागिएको हो ।
महोत्सवलाई विगतभन्दा पृथक र भव्य बनाइने क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गङ्गा गिरीले बताए । गिरीका अनुसार महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा वृद्धि हुने गरेको छ ।
महोत्सवअन्तर्गत हुने विभिन्न गतिविधिमा निजीस्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन् । महोत्सवका लागि करिब एक करोड ३५ लाख खर्च हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले हात्ती महोत्सव पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको र यसलाई बजारीकरण गर्न बोर्डलगायत सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिए । होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले वाइल्ड लाईफ सफारीका लागि प्रसिद्ध चितवनको समग्र पर्यटन विकासमा महोत्सव उपयोगी हुने बताए ।
सौराह पर्यटन प्रवर्द्धन समितिका संयोजक भेषराज दुवाडीले सौराहाको पर्यटनलाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउन महोत्सव सान्दर्भिक हुने बताए ।
हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकारसहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको सहयोग रहेको छ । २०५५ देखि महोत्सव निरन्तर भइरहेको छ ।