रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण सम्झौता

२०७५ असार ६, बुधबार १४:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाल र चीनबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्टेट ग्रीड कर्पोरेशन अफ चाइनाबीच सो प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

हस्ताक्षर समारोहमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थिति थियो । यस्तै, नेपालको ऊर्जा मन्त्रालय र चीनको ऊर्जा तथा प्रसारण लाइन हेर्ने अधिकारीहरुको पनि उपस्थिति थियो ।

नेपाल र चीनबीच सीमापार विद्युत् आदानप्रदानका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । रसुवागढी–केरुङ नाकामा दुवैतर्फ यसअघि नै प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ ।

धादिङको गल्छीदेखि केरुङसम्म प्रसारण लाइन स्थापनामा पूर्वअध्ययन गरिसकिएको र हाल अन्तिम सर्वेक्षणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका रातमाटे–गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिनुभयो ।

भारततर्फ ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यस्तै नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रिया शुरु हुने चरणमा रहेको छ ।

यस्तै रक्सोल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको सन्दर्भमा चीनतर्फ पनि अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता भएको हो ।

चिनियाँ लगानीकर्ताले एकपछि अर्को गर्दै नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा लगानी बढाइरहेको बेला सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

रसुवागढी, केरुङ, गल्छी, रसुवागढी ४०० केभी प्रसारण लाइन बनाउन चिनियाँ पक्ष र प्राधिकरणबीच विगतदेखि नै संयुक्त रुपमा काम भइरहेको छ । रसुवागढीदेखि गल्छीसम्मको दूरी ८० किलोमिटर रहेको छ । यस्तै, चीनतर्फ पनि गेरुङ काउन्टीमा निर्माण हुने सवस्टेशनको दूरी नेपाल–चीन सीमादेखि करिब ८० किलोमिटर रहेको छ ।

गल्छीदेखि केरुङ रसुवागढीसम्म तीन वटा रुट बनाएर पूर्वअध्ययन भए पनि रसुवामा लाङटाङ राष्ट्रिय निकुञ्जलाई छलाएर आयोजना अगाडि बढाइने भएको छ । केरुङतर्फ चिनियाँ प्राविधिक टोलीले अध्ययन सम्पन्न गरेको छ । यस्तै नेपालतर्फ धादिङ गल्छीभन्दा माथि रातमाटेमा सवस्टेशन निर्माण गरिनेछ ।

ल्हासाबाट सिगात्से हुँदै केरुङ आउने विद्युत् केरुङभन्दा माथि गेरुङ काउन्टीमा विद्युत् सवस्टेशनमा जोडिनेछ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले रातमाटेमा नै सवस्टेशन निर्माण गर्ने जनाएको छ । सो परियोजनामा रु ५० अर्ब लगानी हुनेछ । सवस्टेशन निर्माणका लागि जग्गा छनोटको कामसमेत सम्पन्न भइसकेको छ ।

सम्झौताअनुसार जग्गा प्राप्ति, वन तथा वातावरणको समस्या समाधानका लागि दुवै मुलुकले आ–आफ्ना देशमा आवश्यक समन्वय गर्नुपर्नेछ । नेपालले प्रसारण लाइनमा सहयोग उपलब्ध गराइदिन चीन सरकारसँग आग्रह गरेको छ । आयोजना प्रमुख आत्रेयले अनुदान सहयोगमा नै आयोजना निर्माण गरिदिन चीनलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

आयोजनाले सो प्रसारण लाइनलाई रसुवागढी केरुङ रेलमार्गको समानान्तर रुपमा निर्माण गर्नुपर्ने बताएको छ । प्रमुख आत्रेय रेलका लागि विद्युत् आवश्यक पर्ने भएकाले रेलमार्गभन्दा पहिले प्रसारण लाइन निर्माण गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।

ल्हासादेखि सिगात्सेसम्म रेलको लिक बनिसकेको हुँदा रेलको लिक नजिकैबाट प्रसारण लाइन निर्माण गरिनेछ । चीनसँग विद्युत् आदानप्रदानका लागि रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणका लागि सम्झौता भएसँगै तातोपानी, कोरला, किमाथाङ्कालगायत स्थानबाट पनि प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय