‘नेपाल मेडिकल शो–२०२६’शुरु सरकारी प्रतिनिधिको अनुहारनै देखिएन

२०८३ बैशाख १७, बिहीबार १४:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपाल मेडिकल शो–२०२६’ को नवौं संस्करण काठमांडौको भृकुटीमण्डपमा शुरु भएको छ । एक्सपो तिनदिन शनिवार सम्म चल्ने छ। नेपालको ूवास्थ्य क्षेत्रको सबैभन्दा ठुलो एक्सपो भनेपनि सरकारी प्रतिनिधिहरु उद्घाटनको क्रममा कोही उपस्थित नहुदा सरोकारवालाहरुले गुनासो समेत गरे ।

एसडी प्रोमो मिडिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल ९केमसानले संयुक्त रुपमा आयोजना गरेको एक्सपोमा आधुनिक स्वास्थ्य उपकरण तथा प्रविधिहरूको प्रदर्शनी रहेको छ । आयोजक केमसानका अध्यक्ष भक्त हमालले सबै प्रकारका स्वास्थ्य सामग्री तथा उपकरण एकै स्थानमा अवलोकन गर्न पाइने भएकाले यो प्रदर्शनी स्वास्थ्य क्षेत्रका सरोकारवालाका लागि अत्यन्त उपयोगी हुने बताए। अक्सिजन प्रणालीदेखि सीटी स्क्यान, एमआरआईजस्ता उन्नत उपकरणसम्मको तुलना र जानकारी लिन सकिने अध्यक्ष हमालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्ता प्रदर्शनीहरूले निजी क्षेत्रलाई चलायमान बनाउँदै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै यस्ता समस्याहरू समाधान गर्न महासंघ तयार रहेको उल्लेख गरे।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा। अनिल बिक्रम कार्कीले यस्ता प्रदर्शनीले चिकित्सकहरूलाई विश्व बजारका नवीनतम प्रविधि एकै ठाउँमा अवलोकन गर्ने अवसर दिने बताए। उनले नयाँ उपकरणको प्रयोग र विकासमा चिकित्सकहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा सरकारको प्रतिनिधित्व नदेखिनुले निजी क्षेत्रप्रति सरकारी धारणा कस्तो छ भन्ने प्रश्न उठेको उनको भनाइ थियो।

निजी अस्पतालहरूको छाता संगठन (अफिन)का अध्यक्ष डा.पदम बहादुर खड्काले गुणस्तरीय स्वास्थ्य उपकरण आयातमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

आयोजक एसडी प्रोमो मिडियाका अध्यक्ष विवेक विक्रमका अनुसार नेपाल मेडिकल एण्ड ल्याब शो सन् २०१६ मा करिब ७५ कम्पनीहरूको सहभागिताबाट सुरु भएको थियो। सन् २०२६ मा आइपुग्दा यसले महत्वपूर्ण कोसेढुङ्गा पार गर्दै २०० भन्दा बढी कम्पनी, ७५० भन्दा बढी ब्रान्ड र २० भन्दा बढी देशका सहभागीहरू समेटेको छ। यस वर्ष १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य नरेश श्रेष्ठ तथा अन्य सरोकारवालाहरूले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गरेका थिए।

‘नेपाल मेडिकल शो–२०२६’ ले विश्वस्तरीय स्वास्थ्य उपकरण र प्रविधिको प्रत्यक्ष अवलोकन, जानकारी आदान–प्रदान तथा सहकार्य विस्तारका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय