
चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा शुकवार देखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस १३ गतेसम्म हुनेछ।
शुक्रबार, उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले हात्तीको सरक्षणको लागि बाग्मती प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले महोत्सवको अवसरमा हात्ती केवल जनावर मात्र नभई नेपालको संस्कृति, इतिहास र पहिचानको अभिन्न अंग भएको उल्लेख गरे , उनले हात्ती नेपाली संस्कृतिसँग गहिरो रूपमा जोडिएको विषय भएको स्पष्ट पारे।

सीईओ जोशीले हात्ती महोत्सव पर्यटन प्रवर्द्धनको सशक्त माध्यम भएको उल्लेख गर्दै हात्ती संरक्षण तथा संख्या वृद्धि गर्न बोर्डले दीर्घकालीन रोडम्यापसहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। साथै, रिजेनेरेटिभ टुरिजमलाई प्राथमिकतामा राख्दै पर्यटन क्षेत्रका सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने जोशीको भनाई थियो ।


क्षेत्रीय होटल सघ नेपाल चित्तवनका अध्यक्ष ओम पाण्डेले महोत्सवको मुख्य उद्देश्य सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्नु रहेको बताए । उनले हाती महोत्सवका बेला पशु अधिकारको कुरा उठ्ने गरेको तर जनावरको अधिकार कहिले हनन नभएको स्पस्ट पार्दै हात्ती महोत्सवले अन्तर्राष्ट्रिय स्तरमा नेपालालाई चिनाउने माध्यम भएको बताए । महोत्सवका कारण हाल करिब ४० प्रतिशत हाराहारीमा रहेको सौराहाका होटलहरूको अकुपेन्सी दर महोत्सव अवधिमा २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अपेक्षा गरिएको छ।
पर्यटकलाई आकर्षित गर्न सौराहाका होटल तथा रेष्टुरेन्टहरूले खाना र आवास सेवामा विभिन्न छुटका व्यवस्था गरेका छन्।
उद्घाटन कार्यक्रममा पर्यटन, वन तथा वातावरण क्षेत्रका सरोकारवाला, स्थानीय व्यवसायी, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
महोत्सव अवधिभर विविध सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुनेछन्। पहिलो दिन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट शोभायात्रा निकालिएको थियो भने हात्तीको पेनाल्टी सुटआउट प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति गरिएको छ।

दोस्रो दिन मङ्गलधुनसँगै प्रत्यक्ष हात्ती सुन्दरी प्रतियोगिता, हात्ती स्वास्थ्य शिविर, अन्तरक्रिया कार्यक्रम, डुङ्गा दौड, विभिन्न खेलकुद प्रतियोगिता तथा लोकदोहोरीसहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवको अन्तिम दिन हात्ती पूजा, हात्ती बनभोज, विभिन्न प्रतियोगिताको नतिजा प्रकाशन, पुरस्कार तथा प्रशंसापत्र वितरण र औपचारिक समापन समारोह आयोजना गरिनेछ ।
आयोजकका अनुसार हात्ती तथा पर्यटन महोत्सवले सौराहाको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति, जैविक विविधता र हात्ती संरक्षणसम्बन्धी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने अपेक्षा गरिएको छ।
फोटोफिचर





