नेपालमा बिद्युतिय सवारीसाधानको प्रयोग बढाउन सरोकारवालाहरुको जोड

२०८१ जेष्ठ ५, शनिबार ०४:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

खर्च कम गर्नका साथै वातावरण बचाउन बिद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्पार्क कारले आयोजना गरेको ‘ग्रीन मोबिलिटी एण्ड टुरिजम प्रोस्पेरिटी’ बारे छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले बिद्युतीय सवारीको प्रयोगमा जोड दिएका हुन ।

प्यनल डिस्कसनमा सहभागि हुदै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वातावरण बचाउनका साथसाथै खर्च कम गर्न पनि नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यक भएको बताए  । मन्त्री बस्नेतले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउने नीति लिनका लागि सरकारसँग पहल गर्ने समेत बताए ।
नेपालीले पर्यावरणलाई स्वच्छ बनाउन मात्र नभई उपभोक्ताले पेट्रोल तथा डिजेलमा गरिरहने खर्च कटौती गर्नका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बस्नेतको भनाई थियो । आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित अहिले नेपालमा ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाइएको समेत मन्त्री बस्नेतले बताए ।

कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिले नेपालमा पूर्वाधारमा सोचेजस्तो राम्रो अवस्था विकास हुन नसक्दा पर्यटकको आवागमन बढाउन नसकिएको सुनाए । ‘पर्यटन पुर्वाधारका निमित्त जति लगानी गर्नुपर्ने थियो, त्यसकारण पर्यटनमैत्री वातावरण बनाउन सकिएको छैन,’ उनले भने,‘नयाँ पर्यटकीय गन्तव्य बनाउँदै पूर्वाधारहरु वातावरणमैत्री बनाउनेमा जोड दिने मन्त्रालयको नीति छ ।’
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ग्रीन इनर्जीतर्फ मात्र नभई ग्रीन बैंकिङ तर्फ समेत नेपालमा अभ्यास भइरहेको बताए । राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन ९इएसआरएम० गाइडलाइन बैंक वित्तीय संस्थालाई जारी गरेको गभर्नर अधिकारीले बताए । उनले भने,‘लगानी गर्दा इआईए रिपोर्ट नहेरिकन उनीहरूले लगानी गर्दैनन् । जसले वातावरणलाई ठूलो प्राथमिकतामा राखेको देखाउँछ ।’
अधिकारीले अहिले मुलुकमा नीतिहरू राम्रो भइरहेपनि कार्यान्वयन कमजोर भएको समेत बताए । शुक्रबार मात्रै जारी भएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षामार्फत विद्युतीय गाडी खरिदमा लिने कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर शतप्रतिशत कायम गरिएको अधिकारीको भनाइ छ । जसले विद्युतीय गाडी आयातमा झनै सहयोग मिल्ने गभर्नर अधिकारीले बताए ।
वातावरणविद् भुषण तुलाधरले अहिले विश्वमा तापक्रम महिनैपिच्छे वृद्धि भई भयावह अवस्था सिर्जना भइरहेको बताए । पछिल्लो समय नेपालमा भएको आगलागी समेत जलवायु परिवर्तनपछिको खडेरीको असर भएको उनको भनाइ छ । केही दिनअघिमात्रै नेपालको विश्वकै सबैभन्दा बढी प्रदूशित शहर हुनुमा यसको मुख्य कारण पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनबाट निष्कने धुवाँ र अव्यवस्थित शहरीकरण भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

अन्तक्रियामा साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० साहिल श्रेष्ठले पछिल्लो समय विद्युतीय सवारीसाधन निकै भरपर्दो र किफायती सवारीसाधनको रुपमा रहेको बताए । उनले भने,‘विद्युतीय सवारी साधानको प्रयोग बढाउनु पर्यावरणका लागि पनि राम्रो हो । विद्युतीय सवारीको ब्याट्रिका आयू सामान्यतया २० वर्षको हुने भन्दै खर्चका हिसाबले सस्तो छ ।’ उनले अहिले पर्यावरणलाई जोगाउनका लागि पनि विद्युतीय सवारीसाधनको आवश्यकता झनै बढेको उल्लेख गरे ।

कार्यक्रममा स्पार्क ग्रुपका अध्यक्ष रोशन घिमिरेले पर्यावरण जोगाउँदै पर्यटन प्रवद्र्धनका लागि पहल गर्न यस कार्यक्रम आयोजना गरिएको बताए । उनले सबै क्षेत्रले पर्यावरण जोगाउनका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘जुन हिसाबमा लक्जरी होटल र रिसोर्ट बढेका छन् त्यो अनुसार ती पर्यटकलाई सेवा दिने लग्जरी भेहिकलको अभाव छ, उनले भने सो समस्याको समाधानका लागि सरकारले नीतिगत सहयोग गर्‍यो भने त्यस अनुसारको सवारी व्यवस्थापनमा निजी क्षेत्र तयार छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरू, सरकारी, गैरसरकारी, कुटनीतिक नियोग, बहुराष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद् लगायतका प्रतिनिधि सहित २ सय जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय