जाने हैन त कालिन्चोक ?

२०७५ पुष ३०, सोमबार १०:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोकबाट आँखैअघि हिमालका साथै सुन्दर पहाड, नदीनालाको दृश्यावलोकन गर्न सकिन्छ ।

उच्च पहाडी क्षेत्र भएकाले हिउँद याममा यहाँ हिउँ पर्ने भएकाले हिउँ खेल्न पनि पाइन्छ । दोलखा सदरमुकाबाट १७ किलोमिटर उत्तरतर्फ कालिन्चोक रहेको छ ।कालिन्चोक भगवतीको प्रसिद्ध मन्दिर रहेको यस स्थान धार्मिक आस्थाका साथै सुन्दर दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । त्यसैले यस क्षेत्रमा संघीय सरकारको राजधानी काठमाडौं, छिमेकी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलान्चोकका साथै मुलुकका विभिन्न स्थानका अन्तरिकका र बाह्य पर्यटकहरु पुग्ने गर्दछन् ।

काठमाडौंको पुरानो बसपार्कबाट १ सय ३३ किलोमिटरको मोटर यात्राबाट पुगिने दोलखाको सदरमुकाम चरिकोटबाट उत्तरतर्फ रहेको कालिन्चोक काठमाडौंको धुलोधुवाँ र घुइँचोबाट केही समय टाढिने स्थानको रुपमा लिइन्छ ।

उच्च पहाडी क्षेत्रमा रहेको कालिन्चोकमा हिउँ याममा हिउँ पर्ने भएकाले हिउँ खेल्न चाहनेहरुको आकर्षण गन्तव्य बनेको छ । यस समय यहाँका डाँडाकाँडाहरुलाई हिउँले ढाक्ने गर्दछ ।३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोकमा हिउँ परेका बेला यहाँ पुगेका पर्यटकहरु हिउँमा लडिबुडी खेल्दै रमाउने गर्दछन् । चैत वैशाखमा भने वनभरी फुलेको लाली गुराँसको सुन्दर दृश्य देख्न पाइन्छ ।

 बाटो

चरिकोटबाट कालिन्चोक पुग्नअघि कुरी उपत्यका पुगिन्छ । यहाँबाट कालिन्चोक जान पैदल वा केबलकार रोज्नु पर्दछ । पैदलबाट एक घण्टामा पुगिन्छ भने केबलकारबाट करिब ५ मिनेटमै पुग्न सकिन्छ ।कालिञ्चोक गाउँपालिका–१ मा पर्ने कालिञ्चोकमा प्रसिद्ध कालिन्चोक भगवती मन्दिर छ ।

हिमालय पर्वत माइती भएकी पार्वतीले गौरीशंकर क्षेत्रमा ध्यानमा रहेका महादेवलाई पतिको रुपमा पाउन महादेवले देख्ने गरी कालिञ्चोकको डाँडामा तपस्या गरेर बसेको भन्ने किंवदन्ती छ ।

कालिञ्चोक भगवतीलाई काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवतीलगायत सात भगवतीमध्ये एक मानिन्छ । त्यसैले यस मन्दिरको विशेष महत्व रहेको छ ।

मन्दिरको पूजा गर्ने स्थानमा एउटा जलकुण्ड रहेको छ । जलकुण्डको दायाँ अर्थात् पूर्व दिशाबाट तामाको धारा भएर तामाकोशी र बायाँ अर्थात् पश्चिमबाट सुनको धारा भएर सुनकोशी नदीको सुरु भएको बताइन्छ ।

कालिञ्चोकको डाँडाबाट सबैभन्दा नजिकमा गौरीशंकर हिमाल देख्न सकिन्छ । यसका साथै पूर्वमा तामाकोशी र पश्चिममा सुनकोशीको नागबेली दृश्य मनमोहक छ ।

यति मात्र होइन, डाँडाबाट देखिने कुरी भ्याली र डाँडाकाँडाका सुन्दर दृश्यले सबैको मन आकर्षित गर्दछ । त्यसैले धार्मिक र प्राकृतिक महत्वको यस क्षेत्रमा प्रचारप्रसार र प्रवर्द्धन गरे अझै धेरै पर्यटक आकर्षण गर्न सकिन्छ ।

यस क्षेत्रमा जाने पर्यटकका लागि खान बस्न कुरी उपत्यकामा राम्रो होटलको व्यवस्था छ ।   कालिनञ्चोकमा जनै पूर्णिमा, दशैं, चैते दशैंजस्ता पर्वमा भक्तजनको घुइँचो लाग्ने कुरी होटल ब्यवासयी संघकी अध्यक्ष सीता तामाङले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय