मेक्सिकोले रुसमा जर्मनीलाई हरायो

२०७५ असार ४, सोमबार १५:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

डिफेन्डिङ च्याम्पियन जर्मनीलाई एक–शून्यले हराएपछि मेक्सिकन नागरिकमा खुशीको सीमा थिएन । मेक्सिकोले विश्वकप इतिहासमा पहिलो पटक जर्मनीलाई हराएको थियो । साथै जर्मनी पनि ३६ वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेल हार्न पुग्यो ।

खेल रुसमा भएको थियो तर भूकम्प मेक्सिकोमा गयो । इन्ष्टिच्यूट अफ् जियोलोजिकल एण्ड एट्मोसफेरिक इन्भेष्टिगेशनका अनुसार आइतबार मेक्सिकोको राजधानी मेक्सिको सिटीका दुई ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो ।

मेक्सिकोका लागि हिर्विङ लोजानोले ३५ औँ मिनेटमा गोल गरेको ७ सेकेण्डपछि भूकम्पको धक्का महसुस भएको इन्ष्टिच्यूटले जनाएको छ । यसलाई उनीहरुले ‘आर्टिफिसियल क्वेक’ अर्थात कृत्रिम भूकम्पको संज्ञा दिएका छन् ।

प्रशंसकहरु जितको खुशीयाली उफ्रिँदा कृत्रिम भूकम्प गएको बताइएको छ ।

 

मेक्सिको सिटीका विभिन्न ठाउँमा ठूला–ठूला प्रोजेक्टरमा खेल देखाइएको थियो । प्रशंसकहरु हातमा मेक्सिकोको झण्डा लिएर, मेक्सिकोको परम्परागत ‘सोम्ब्रेरो’ ह्याट लगाएर खेल हेर्न आएका थिए ।

जब मस्कोमा भएको खेलमा मेक्सिकोले जर्मनीलाई १–० ले हरायो, उनीहरुलेदेशको अनौपचारिक फुटबल एन्थेम ‘सिलितो लिन्दो’ अर्थात ‘सुन्दर सानो आकाश’ गाउन थाले ।

मेक्सिकोले जर्मनीमाथि जित हात पारेपछि मेक्सिकोको राष्ट्रपति उम्मेदवार आन्द्रेस म्यानुएल लोपेजले भनेका छन्, ‘आज जसरी जित्यो, मेक्सिकोले यसरी नै जित्दै जान्छ ।’ प्रशंसकले मेक्सिकन गोलरक्षक गुइलेर्मो ओचोआको प्रशंसा गरेका छन् । कतिपयले त उनलाई मेक्सिकोको राष्ट्रपतिको उपनामसमेत दिएका छन् । मेक्सिकोले आउँदो शनिबार दक्षिण कोरियासँग खेल्नेछ ।

समूह एफमा मेक्सिको, जर्मनी, दक्षिण कोरिया तथा स्विडेन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय