नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कार्यान्वयन जिम्मेवारीमा लुम्बिनीमा हुने पहिलो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम) मा ३० देशको सहभागिता हुने भएको छ।
जनवरी १० देखि १२ तारिखसम्म हुने मार्टमा ३० देशका ट्राभल एजेन्सी, पर्यटन प्रवद्र्धनमा क्रियाशील सञ्चार माध्यम, पर्यटनसँग सम्बन्धित ब्लगर तथा वक्ताको सहभागिता हुने छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेका अनुसार मार्टमा सहभागी हुनका लागि ३० देशलाई औपचारिक निमन्त्रणा गरिएको थियो। ‘निमन्त्रणा पठाएका सबै देशले मार्टमा सहभागी हुनका लागि आवेदन गरेका छन्,
उनका अनुसार मार्टमा सहभागिताका लागि ती देशका प्रतिनिधिले आवेदन दिनुपर्छ। धेरै आवेदन आएका खण्डमा मापदण्ड बनाएर छनोट गरिनेछ।
‘सोचेभन्दा धेरै आवेदन आएका छन्,’ उनले भने, ‘एउटा देशबाट कति जना र कस्ता प्रतिनिधिलाई सहभागिता गराउने भनेर मापदण्ड अनुसार छनोट गर्नेछौं।’ नाटाले छनोटको काम अगाडि बढाए पनि सम्पन्न भने गरिसकेको छैन।
लुम्विनी गौतम बुद्धको जन्मस्थल भएकाले संसारभरका वौद्ध धर्मावलम्बीहरु नेपालमा आउन चाहन्छन्। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि झनै सहज हुने बताइएको छ।
सरकारले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। मार्टले पर्यटन वर्षको प्रचारप्रसारमा पनि सहयोग पु-याउने अनुमान आयोजकको छ। ‘एक्सप्लोर द बुद्ध ल्यान्ड, गेटवे टू बुद्धिस्ट सर्किट’ भन्ने मूल नारासहित आयोजना हुन लागेको मार्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन भएको छ।
कार्यक्रमको पहिलो दिन जनवरी ११ मा उद्घाटन तथा छलफलका कार्यक्रम राखिएको छ। दोस्रो दिन सेलर र वायरबीच भेटघाट र बिजनेस डिलको कार्यक्रम रहेको छ।
त्यसैगरी प्रथम बिआइटिम घोषणापत्र पनि जारी गर्ने योजना कार्यक्रमको छ। घोषणापत्रमा लुम्विनी क्षेत्रको विकास, गुणस्तरीय पर्यटन विकास योजना, अन्तर्राष्ट्रिय पर्यटनमा बजारीकरणका विषय समेटिनेछन्। त्यसैगरी लुम्बनीमा पर्यटकको बसाई अवधि लम्ब्याउन पाल्पा, अर्घाखाँची लगायत जिल्लालाई समेटेर नयाँ भ्रमण तालिका समेत निर्माण गर्ने कार्यक्रमको योजना गरेको नाट्टाले जनाएको छ। कार्यक्रममा करिब तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ। आयोजकका अनुसार मार्ट आगामी वर्षहरुमा पनि नियमित हुनेछ।


