ईशान बाल तथा महिला अस्पतालले आफ्नो स्थापनाको २४ औं बार्षिकोत्सव मनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशिलनाथ प्याकुरेलको प्रमुख आथित्य तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. नारायणबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा ईसान बाल तथा महिला अस्पतालका निर्देशक डा. रामानन्दनप्रसाद चौधरी (आरपी चौधरी) ले अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा चर्चा गर्दै अस्पतालले हरेक वर्ष प्रगति गर्दै गइरहेकोमा खुशी व्यक्त गरे ।
४ जना जनशक्तिबाट ईसानले उपचार सेवा सुरु गरेको स्मरण गर्दै डा. चौधरीले देश भरिका बिरामी बालबालिकालाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ १०० शैयाको अस्पताल भवन निर्माण भइरहेको र निटक भविश्यमै थप विशिष्ठकृत सेवा सञ्चालनमा आउने जानकारी दिए । राजधानी काठमाडौंका मात्र नभएर देशभरिका बालबालिका उपचारका लागि आउने गरेकाले गुणस्तरीय सेवालाई आफूहरुले पहिलो प्राथमिकता दिएको उनले दाबी गरे ।
अस्पतालले हाडजार्नी, आँखा, कान र घाटीको पनि उपचार सेवा सञ्चालन भएको डा. चौधरीले बताए । अस्पतालमा हाल ४७ जना बिशेषज्ञ चिकित्सक सहित पिआईसियू र एनआईसियू विभाग २४ सैं घण्टा सञ्चालनमा रहेको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत माधवप्रसाद पराजुलीले जानकारी दिए । कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले अस्पतालले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै नगरपालिकाको सधै सहयोग रहने बताइन ।


