नेकपाकी सचेतक समेत रहेकी प्रतिनिधिसभा सदस्य शान्ता चौधरी आइतबारदेखि सुरु भएको एसइइ परीक्षामा सहभागी भएकी छन् । तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट परीक्षा दिँदै छिन् ।
२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाई सुरु भएको थियो ।
कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । उनी खुला विद्यालयमा भर्ना भएकी हुन् । उनी यसपटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै छिन् ।
उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन् ।
विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन । र कक्षा आठमा भर्ना भएकी हुन् ।


