अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै भारत र पाकिस्तानबाट ‘आकर्षक खबर’ आफूले पाएको बताए । उनले दुई देशबीचको तनाव चाँडै समाधान हुन गइरहेको भविष्यवाणी पनि गरेका छन् ।
के ट्रम्पले भनेजस्तै दुई देश समाधानउन्मुख भएका हुन् त रु
यसको ठोस जवाफ नमिले पनि भारतीय पक्ष बुधबारको तुलनामा विहीबार केही शान्त देखिएको छ । बालाकोट आक्रमणको भोलिपल्टै पाकिस्तानले दुईवटा लडाकू विमान खसाएर जवाफी आक्रमण गरेपछि भारत थप उत्तेजित हुने विश्लेषण गर्न थालिएको थियो । तर, भारतले अहिलेसम्म अर्को कुनै कदम चालेको छैन । भारतीय मिडियाहरुको उग्रता पनि बिहीबार केही मथ्थर भएको छ ।
तर, पाकिस्तानसँग कुरा मिल्न लागेर भारत यो अवस्थामा आएको भने होइन । भारतीय पक्ष केही नरम देखिनुको एउटा कारण हो आफ्नो पाइलट पाकिस्तानले कब्जामा लिनु । दुई लडाकु विमान खसाएर पाकिस्तानले पाइलटलाई कब्जामा लिएपछि भारत पछि सरेको हुन सक्छ ।
आफ्नो पाइलट पाकिस्तानी नियन्त्रणमा रहेको कुरा भारत सरकार वा सेनाले प्रष्ट शब्दमा भनेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ‘आफ्ना एक पाइलट बेपत्ता बनेको’ मात्र बताएका छन् । तर, भारतले आफ्नो पाइलटलाई पाकिस्तानको कब्जाबाट झिक्न भित्रभित्रै प्रयास गरिरहेको समाचार स्रोतहरुको भनाइ छ । यतिबेला भारतको सबैभन्दा ठूलो प्राथमिकता भनेकै पाइलटको रिहाइ बन्न पुगेको छ ।
आफ्नो पाइलट फिर्ता नपाउञ्जेल भारतलाई पाकिस्तानविरुद्ध कुनै कडा कदम चाल्न कठिन छ । त्यसैले पनि हिजोको घटनापछि भारत सरकार र मिडियाको बोलीको टोन केही फेरिएको देखिन्छ ।
इन्डियन एक्सप्रेसका अनुसार नयाँ दिल्लीले आफ्ना पाइलटलाई कुनै हानी नपुर्याउन पाकिस्तानी सरकारसँग कुटनीतिक च्यानलमार्फत आग्रह गरिरहेको छ । र, पाकिस्तानी सेनाले पनि उनीमाथि मानवीय व्यवहार गरिने बचन दिएको समाचारमा उल्लेख छ । तर, यसैबाट भारत विश्वस्त हुन भने सक्दैन ।


