सामाजिक सुरक्षा भत्ता पाउने उमेर वृद्धि गर्न सिफारिस गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा तयार पारिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा भत्ता पाउने उमेर बढाउन सिफारिस भएको हो ।
उक्त मार्गचित्रमा सामाजिक सुरक्षा भत्ता पाउने उमेर वृद्धि गरी ७५ वर्ष पुर्याउन सिफारिस गरेको छ ।
सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत भत्ता पाउने उमेर ७० वर्ष पुर्याएको थियो । २०७९ सालको निर्वाचन अगाडी यस्तो भत्ता पाउने उमेर ७० वर्ष नै थियो । तर, त्यसबेला शेरबहादुर देउवा नेतृत्वको सरकारले ६८ वर्षमै भत्ता दिने थालेको थियो । भत्ताको भार बढ्दै गएपछि उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले भत्ता पाउने उमेर बढाउन सुझाव दिएपनि चालू आवबाट ७० वर्ष पुर्याइएको थियो ।
अहिले तयार पारिएको मार्गचित्रमा सामाजिक सुरक्षामा बढ्दो खर्चलाई मध्यकालिक खर्च संरचना अन्तर्गत व्यवस्थापन गर्न भनिएको छ । यसका साथै नगद भत्तालाई मात्र प्राथमिकता दिनुभन्दा स्वास्थ्य बीमा प्रिमियममा अनुदान दिई बीमालाई सामाजिक सुरक्षाको अनिवार्य अंक बनाउन सिफारिस गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सरकारले १५ खर्ब ८ अर्ब बजेट खर्च गरेकोमा सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब (सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा अनुदान, योगदानमा आधारित सामाजिक सुरक्षामा सरकारी अंक, विपद् राहत, निवृत्तिभरण लक्षित सामाजिक सहायता कार्यक्रम) विनियोजन भएको थियो । जसमध्ये अधिकांश खर्च भएको हुँदा सामाजिक सुरक्षा र संरक्षणमा कूल बजेटको २० प्रतिशत भन्दा बढी खर्च भएको देखिन्छ ।


