आइवर्ट नेपालद्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघुचलचित्र प्रतियोगितामा पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारि माइलाज गार्डेन’ प्रथम, स्थान हासिल गरेको छ । यस्तै सरिता साहको ‘पुतला’ दोस्रो र निशा मानन्धरको ‘बडी नट माइन्’ तेस्रो भएका छन्। आइवर्ट नेपालको छैटौँ लघुचलचित्र प्रतियोगितामा ९ वटा फिल्म अन्तिम छनोटमा परेका थिए ।
विजेताहरूलाई पुरस्कार, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा छानिएका सबै चलचित्र १५ मिनेट समय अवधीको थियो । प्रतियोगिताका निर्णायकहरूमा चलचित्र निर्माता अनुपा श्रेष्ठ, पत्रकार तथा वृत्तचित्र निर्माता देवकी बिष्ट र निर्देशक समुन्द्र भट्ट रहेका थिए। प्रतियोगितामा आकांक्षा जिसी भुजेलद्वारा खोजमूलक पत्रकारितामा आधारित रूपमा निर्माण गरिएको वृत्तचित्र ‘डस्ट टु डिस्क्लोज’ लाई विशेष अवार्डद्वारा सम्मान गरिएको थियो।
महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रहरू भारतबाट ‘ब्याक स्टोरी’, बंगलादेशबाट ‘एक्स्ट्रा गर्ल फ्र्रम द सिल्भर स्क्रिन’ र ‘द लाइफ अफ अक्टोपस फिसरम्यान’, तथा केन्याबाट एक चलचित्र प्रदर्शन गरिएको थियो।

यस वर्षदेखि आइवर्ट नेपालले मोबाइलबाट निर्माण भएका लघुचलचित्रहरूको पनि प्रतियोगिता आरम्भ गरेको छ। नागार्जुन नगरपालिकाको दस वटै वडाहरूमा नागार्जुन नगरपालिका र इमेज एकेडेमीसँग सहकार्यमा गत असारमा आयोजित मोबाइल फिल्म मेकिङ्ग तालिममा सहभागीहरूले बनाएका ६ लघुचलचित्रमध्ये चण्डिका केसीको ‘ओ नेगेटिभ’ प्रथम, अनुशा पौडेलको ‘मेनोपज’ दोस्रो र दिपा बलामीको ‘द मिस्ड कल’ तेस्रो भएका छन्। विजेताहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। मोबाइल चलचित्रतर्फका निर्णायकहरू आइवर्ट नेपालका बोर्ड सदस्यहरू रहेका थिए।
महोत्सवको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी पहिलो महिला कुलपति माननीय निशा शर्माले गर्नुभएको थियो। कार्यक्रममा रास्वपाका पूर्व सांसद तथा चलचित्र निर्माता अशिम शाह, निफका अध्यक्ष केपी पाठक, निफका कार्यक्रम संयोजक शिव पुरी, प्रेस काउन्सिलका मदनकृष्ण सिलवाल, आइवर्ट इन्टरनेशनलकी सचिव मन्दिरा राउत, आइयुसिएन क्षेत्रीय परिषद् सदस्य रोशनी अधिकारी पाठक, फ्रान्सका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ, रेडियो सगरमाथा स्टेशन म्यानेजर उर्वशी बस्न्यात, अन्नपूर्ण नेटवर्ककी रिता अधिकारी, अर्थर अवार्डकी अध्यक्ष शिला खड्का, वरिष्ठ सर्जन डा। उत्सवमान श्रेष्ठलगायतको उपस्थिति थियो।

कार्यक्रमा बोल्दै कुलपति निशा शर्माले नेपाली कला क्षेत्रमा अनेकौं चुनौती भए पनि महिलाहरूको सहभागिता दिनानुदिन बढिरहेको जनाउँदै महिलाहरू कुनै पनि क्षेत्रमा पछि हट्न नहुने धारणा व्यक्त गर्नुभयो।
महोत्सवकी निर्देशक संगीता श्रेष्ठका अनुसार नेपाली चलचित्र उद्योगमा महिला निर्देशकहरू निकै कम रहेका अवस्थामा यस्ता महोत्सव र प्रतियोगिताले महिला निर्देशक तथा फिल्ममेकरहरूलाई उत्साह र अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा श्रेष्ठद्वारा निर्देशित तथा नेपाल आदिवासी चलचित्र महोत्सव बेलायतमा ‘बेस्ट डकुमेन्ट्री फिल्म’ बनेको ‘द एभरेस्ट मम’ को नेपाल प्रिमियर पनि गरिएको थियो।
आइवर्ट नेपालकी अध्यक्ष इच्छा गुरुङका अनुसार, महिला पत्रकारहरू, चलचित्र निर्माणमा रुचि राख्ने महिलाहरुको क्षमता अभिवृद्धि, उनीहरूको सिर्जनाको सम्मान तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच बढाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। चलचित्रमार्फत महिला सशक्तिकरण, भाषा, संस्कृति र पर्यटनको आदानप्रदान हुने पनि उहाँले बताउनुभयो।
आइवर्ट नेपाल ९इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन नेपाल च्याप्टर० सन् २००७ मा स्थापना भएको हो। यसमा टेलिभिजन, रेडियो तथा विभिन्न सञ्चारमाध्यममा सक्रिय महिला पत्रकार तथा सञ्चारकर्मीहरू सदस्यका रूपमा आवद्ध छन्। संस्थाले महिला सञ्चारकर्मीहरूको क्षमता विकासका लागि कार्यशाला, चलचित्र प्रतियोगिता, प्रशिक्षण तथा सचेतना कार्यक्रमहरू संचालन गर्दै आएको छ। महिला सशक्तिकरण, सिर्जनशीलता र कलात्मक अभिव्यक्तिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव मंसिर १ गते चलचित्र विकास बोर्डमा सम्पन्न गरिएको हो।

