विवादित व्यवसायी दीपक भट्टको कम्पनीमा सेयर देखिएपछि विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।
राजीनामा दिँदै उनले लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो कुरा नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषय निष्पक्ष छानबिन होस् ।’
गृहमन्त्रीको हटसिटमा गुरुङले रफ्तारमा काम गरे । २६ दिने कार्यकालमा उनी आक्रामक रूपमा प्रस्तुत भए । प्रतिक्रियामा उनीमाथि पनि प्रश्नहरू खनिए । छानबिनका लागि नैतिकता देखाएको भन्दै उनले राजीनामा दिँदै केही प्रतिप्रश्नहरू पनि छाडेर गएका छन् ।
‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुनेगरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्, ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। ‘ रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’


