नेपाल बोर्डर टु बोर्डर थ्रु हाइक’ नामकरण गरी नयाँ ट्रेकिङ रुट पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालिका अध्यक्ष राजन सिंखडाले सार्वजनिक गरेका छन्। भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने रुट आफुले पत्ता लगाएर घुमेर आएको अनुभव सिखडाले सुनाएका छन् ।
नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग तराईदेखि पहाडका विभिन्न ऐतिहासिक भू(भाग हुँदै उच्च हिमाली क्षेत्र रसुवाको चीन जोड्ने केरुङ नाकासम्मको भू(भाग समेटिएको राजन सिम्खडाले पत्रकार सम्मेलन गरेर जानकारी गराए ।
आफ्नो ट्रेकिङ कम्पनी अर्थबाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी सिंखडाको समूहले यो ट्रेकिङ रुट खोजी गरेको हो । टोलीमा ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर, स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पा सहभागी थिए ।
६० मिटर उचाइको नेपालको तराईका भू–भागदेखि पहाडी क्षेत्रका धेरै जिल्लाका ऐतिहासिक एवम् पर्यटकीय गन्तव्यस्थल हुँदै ३ हजार ७ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रको रसुवा केरुङ नाका जोड्ने यो नयाँ ट्रेकिङ रुट ‘अफसिजन’ मा १२ महिना नै सञ्चालन गर्न सकिने सिंखडाले जानकारी दिए । उनका अनुसार दुई वर्षको तयारीपछि यो ट्रेकिङ रुट खोजी गरिएको हो । २० दिनको लागि ३ हजार ५ सय अमेरिकी डलरमा यो ट्रेकिङ रुटको व्यावसायिक सञ्चालन सम्भव रहेको सिंखडाको भनाई छ ।
टोलीले कपिलवस्तु तौलिहवास्थित भारत सीमानाका खुनुवादेखि भगवान बुद्ध हिँडेको बाटो, रामापिथेकस पार्क, पाल्पा तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँ बन्दीपुर, त्यसपछि गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४ सय ४० किलोमिटर लामो ट्रेकिङ रुट १७ दिन लगाएर पूरा गरेको हो ।


