
उच्च अदालत पाटनले नक्कली बैंक ग्यारेन्टी बनाएको ठहर गर्दै नेपाल कृषि विकास बैंक लगनखेलका शाखा प्रमुख र सुनौलो खिम्ती कन्ट्रक्सनका प्रमुखसहित ४ जनालाई दोषी ठहर गरेको छ।
उच्च अदालतको वाणिज्य इजलासले ४ करोड बराबरको बैंक ग्यारेन्टी नक्कली बनाई ठगी गर्ने कार्यमा कृषि विकास बैंक लगनखेलका तत्कालीन शाखा प्रमुख बद्रीराज सुवेदी, कर्मचारी उमेशबहादुर राना, ताराप्रसाद काफ्ले र सुनौलो खिम्ती कन्ट्रक्सनका प्रमुख धर्मराज भन्डारी(भिमसेन)को संलग्नता ठहर गरेको हो।
न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र किरण पौडेलको इजलाशले शाखा प्रमुख सुवेदीलाई ४ वर्ष कैद र ३ करोड २२ लाख ९८ हजार जरिवाना हुने ठहर गरेको छ। त्यस्तै बैंकका अर्का कर्मचारी ताराप्रसाद काफ्लेलाई ४ वर्ष कैद, ३ करोड १४ लाख ४८ हजार जरिवाना गर्ने फैसला सुनाएको छ। सुनौलो खिम्तीका प्रमुख धर्मराज भण्डारी (भीमसेन)लाई उच्च अदालतले ४ वर्ष कैद र ३ करोड १७ लाख ४२ हजार जरिवाना गर्ने फैसला सुनाएको छ।
अनियमिततामा संलग्न भएको आरोप लागेका कृषि विकास बैंकका अर्का कर्मचारी उमेशबहादुर राणालाई उच्चले २ वर्ष कैद १ करोड ५७ लाख २४ हजार जरिवाना गर्ने फैसला सुनाएको छ। बानियाँले ताराबहादुर काफ्लेको मतियारका रूपमा काम गरेको देखिएको भन्दै उच्चले उनलाई आधा सजाय गर्ने फैसला सुनाएको हो। करौडौंको योजना हात पार्न उनीहरुले तीन करोड ४८ लाख बैक ग्यारेन्टी नक्कली देखाएका थिए।
योजना ठेक्कामा पार्न कृषि विकास बैंकको नक्कली ग्यारेन्टी खडा गरिएको थियो। उक्त बैंकको सिस्टममा समेत समावेश नगरी सुवेदी र अन्य कर्मचारीको संलग्नतामा धर्मराज भण्डारीले नक्कली बैक ग्यारेन्टी बनाएका थिए।
बैंकलाई समेत थाहा नदिई निर्माण भएको उक्त बैंक ग्यारेन्टीको रहस्य ठेक्का तोकेपछि मात्र थाहा भएको थियो। समयमा सडक निर्माणको ठेक्का सम्पन्न नगरेपछि सरकारले बैंक ग्यारेन्टी जफत गर्न खोज्दा नक्कली बनाएको रहस्य खुलेको थियो।
वाणिज्य इजलासले बैंक ग्यारेन्टी बापतको ३ करोड ४८ लाख असुल गर्न समेत सरकारको नाममा आदेश गरेको छ। त्यस्तै बैंक ग्यारेन्टी राखेको अवधिसम्मको ब्याज २ लाख ९४ हजार धर्मराज भण्डारी र बद्रीराज सुवेदीसँग असुल गर्नु पर्ने उच्च अदालतको फैसलामा उल्लेख छ।
उच्च अदालतले २०७६ जेठ २७ गते किर्ते गरी बैंक ग्यारेन्टी निर्माण गरेको अभियोगमा चार जनालाई दोषी ठहर गरेको थियो। सजाय भने उच्चले २०७६ असार २७ गते तोकेको थियो।
त्यस्तै उच्चले कृषि विकास बैंकका कर्मचारी पुसाम्गेल शेर्पालाई भने सफाइ दिएको छ। शेर्पाका मृत्यु भइसकेको भन्दै उच्चले उनलाई सफाई दिएको हो। उनीहरु विरुद्ध बैकिङ कसुरका चार थान मुद्दा दायर भएका थिए।