कोरोना भाइरसबाट निधन हुनेको संख्या तीन सय ६२

२०७६ माघ २०, सोमबार ०६:०८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कोरोना भाइरसबाट निधन हुनेको संख्या तीन सय ६२ पुगेको छ ।

चीनमा मात्रै तीन सय ६२जनाको मृत्यु भइसकेको त्यहाँकाे राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसले चीन बाहिर पनि एक जनाको ज्यान लिएको छ । आइतबार फिलिपिन्समा कोरोना भाइरसबाट एक चिनियाँ नागरिकको निधन भएको थियो ।

आयोगका अनुसार चीनमा मात्रै संक्रमितको संख्या १७ हजार २ सय ५ पुगेको छ  । त्यहाँ एकैदिन थप २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ ।

चीनबाहेक अरु २४ देशका १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट संक्रमितकाे उपचारका लागि चीनले वुहानमा एक सय शय्याको हुओसेन्सान अस्पतालकाे साेमबार उद‍्घाटन हुँदै छ । सो अस्पताल सोमबारदेखि सञ्चालन हुने चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

चिनियाँ सैनिकका १४ सय स्वास्थ्यकर्मीले साे अस्पतालमा उपचारार्थ खटिने बताइएकाे छ । चीनले अर्काे अस्पताल पनि बनाउँदै छ ।

कोरोनाको पीडामा परेको चीनमाथि फेरि नयाँ आपत आइलागेको छ चीनको हुनान प्रान्तस्थित सुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा ‘बर्ड फ्लु’ देखिएको छ ।  साओयाङ सहरको एक कुखुरा फार्ममा बर्ड फ्लुको संक्रमण देखिएपछि त्यहाँ रहेका सात हजार ८ सय ५० चल्लासहित चार हजार पाँच सय कुखुरा मरेका छन् ।

१७ हजार ८ सय २८ कुखुरा नष्ट गरिएको चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय