नेकपा विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ भनेर चिनिएको राष्ट्रिय वाणिज्य बैंकको भवन लामो समयदेखि विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएको थियो ।
विप्लव समूहमाथि प्रतिबन्ध लगाएको एक सातापछि प्रहरीले रातो घर आफ्नो नियन्त्रणमा लिएको हो । सोमबार राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी लिएर रातो घर पुगेको प्रहरी टोलीले ताल्चा फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाएको छ ।
भवनमा वाणिज्य बैंकले ताला लगाएको छ ।
यसैबीच विप्लव समूहका रुपन्देही जिल्ला इन्चार्ज शरद ओली र सेक्रेटरी अमर आरसीले संयुक्त विज्ञप्ति जारी गर्दै घर खाली नगर्ने बताएका छन् ।
विज्ञप्तिमा वाणिज्य बैंकले लगाएको ताल्चा तोडेर आफ्नो पार्टीले ताल्चा लगाएको र पार्टी कार्यालय यथावत रहेको समेत विज्ञप्तीमार्फत जानकारी दिइएको छ । फेरि हस्तक्षेप गरेमा पार्टीले कठोर निर्णय लिन बाध्य हुने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ ।


