विद्युतीय बस अलपत्र ,बस थन्किए

२०७५ चैत्र ४, सोमबार १४:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

विद्युतीय सवारी सञ्चालन गर्न तथा चार्जिङ स्टेशन स्थापनाका लागि नीतिगत र कानूनी व्यवस्था नहुँदा निजी क्षेत्रले बनाएको चार्जिङ स्टेशन र विद्युतीय बस अलपत्र परेका हुन् ।

नीतिगत व्यवस्था नहुँदा लाखौं खर्च गरेर बनाइएको चार्जिङ स्टेशन दुई महिनादेखि अलपत्र परेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।

विद्युतीय सवारी चार्ज गर्न सुन्दर यातायात प्रालिले काठमाडौंको सुकेधारा र सितापाइलामा चार्जिङ स्टेशन निर्माण गरेको छ ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाका अनुसार सुकेधारा र सितापाइलामा डेढ रोपनी क्षेत्रफलमा ७ वटा चार्जिङ स्टेशन निर्माण गरिएको छ । ३०, ६० र १२० केभिए क्षमताका चार्जिङ मेसिन ती स्टेशनमा राखिएको छ । ३० केभीए क्षमताको दुई वटा, ६० र १२० केभीएका तीनरतीन वटा चार्जिङ मेसिन छन् ।

३० केभीएको मेसिनले एकैपटकमा ४ वटा गाडी चार्ज गर्न मिल्छ भने ६० र १२० केभीएका मेसिन चाररचार वटा गाडी चार्ज गर्ने क्षमताका छन् ।

यी सबै चार्जिङ मेसिनबाट एसी र डिसी आउटपुटको सुविधा छ । गाडी धनिले चार्जिङ मेसिनबाट ब्याट्री बिग्रिने चिन्ता लिनु नपर्ने कम्पनीका अध्यक्ष थापाको दाबी छ । ‘नेपालमा चलिरहेका १६ वटा कम्पनीका गाडीका ब्याट्रीलाई उपयुक्त छ हाम्रो चार्जिङ मेसिन’, उनले भने ।

डिजिटल प्रविधिका चार्जिङ मेसिन भएकाले जति चार्ज गर्नु छ त्यति नै युनिट तोकेर चार्ज गर्न मिल्ने सुविधा पनि छ । ‘पेट्रोल पम्पमा गएर २०० को तेल हाल्छ भन्छौं नि यहाँ पनि त्यसरी नै बटम दबाएर निश्चित युनिट चार्ज गर्न मिल्छ’, उनले भने ।

चार्ज फूल भएपछि मेसिन ‘अटोअफ’ हुने भएकाले ब्याट्रीमा कुनै समस्या नआउने उनको दाबी छ । चीनबाट भित्र्याएको यी चार्जिङ मेसिन एउटाको १३ लाख परेको थापा बताउँछन् । स्वीकृति पाए १५ दिनभित्रै चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने कम्पनीको भनाइ छ ।

सुन्दर यातायातले भित्र्याएका दुई वटा विद्युतीय बस समेत थन्किएका छन् । ‘दुई वटा परीक्षणका लागि ल्याएका छौं, हाम्रो अर्डर अनुसार चिनियाँ कम्पनीले थप ११ वटा बस निर्माण गरेर लिन आउन पत्राचार गरिसकेको छ तर, ल्याइसकेका बस थन्किएकाले हामीले होल्ड गरेका छौं’, उनले भने । एउटा बस एक करोड ८७ लाख परेको उनले बताए ।

सरकारले भन्सार छुट पनि नदिएको उनको भनाइ छ । ‘विद्युतीय सवारीलाई बढावा दिने भाषण सुन्छौं तर, हामीले एक रुपैयाँ पनि छुट पाएनौं, उनले गुनासो गरे ।

सरकारले विद्युतीय सवारी आयातमा विशेष छुट र गतवर्षबाट बैंकहरुलाई पनि ८० प्रतिशतसम्म अटो ऋण प्रवाह गर्ने अधिकार दिएको छ । तर, त्यो व्यवहारमा नदेखिएको व्यवसायीको गुनसो छ ।

सुन्दर यातायातले भित्र्याएका विद्युतीय बस ४० सिट क्षमताका छन् । जसमा थप ३० जना उभिए यात्रा गर्न मिल्छ । ‘चाइनिज बीएके ब्याट्री इन्क’को जोइन्ट भेन्चर हो सुन्दर यातायात । बीएके ब्याट्री इन्क सन् २०११ को ग्लोबल र्यान्किङमा नम्बर ७ मा परेको उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ ।

सन् २००१ मा स्थापित बीएकेले विश्वस्तरीय भक्सवागन, बीएमडब्लू जस्ता कम्पनीलाई लिथियम ब्याट्री सप्लाइ गर्नुका साथै सन् २०१४ यता विद्युतीय कार, बस निर्माण गर्दै आएको छ ।

यसै कम्पनीले निर्माण गरेका विद्युतीय बस सुन्दर यातायात प्रालिले नेपाल भित्र्याएको हो । यी बसमा इ(पेमेन्टको सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।

झण्डै १३ करोड खर्चेर चार्जिङ स्टेशन र विद्युतीय बस भित्र्याएपनि सरकारले सञ्चालनका लागि बाटो बन्द राखेको सुन्दर यातायातका अध्यक्ष थापाको गुनासो छ ।

आइतबार मात्र सुन्दर यातायातले उर्जा मन्त्री वषरमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार्जिङ स्टेशन देखाएका छन् ।

उर्जा मन्त्री पुन र प्राधिकारीका कार्यकारी निर्देशक घिसिङ जतिसक्दो छिटो चार्जिङ स्टेशन सञ्चालन गर्न इच्छुक देखिएपछि यातायात मन्त्री रघुवीर महासेठले वेवास्ता गरेको थापाको भनाइ छ ।

नीतिगत व्यवस्था गरिदिन मन्त्री महासेठलाई पटक पटक आग्रह गरेपनि आश्वासन दिएर टार्ने गरेको व्यवसायीको गुनासो छ ।

कम्पनीले ल्याएका बसमा जीपीएस, एसीको पनि सुविधा छ । सार्वजनिक सञ्चालनमा ल्याउन सके विद्यमान भाडादर भन्दा ३० प्रतिशत सस्तो हुने कम्पनीको भनाइ छ ।

हाल काठमाडौं उपत्कामा ४ किलोमिटरसम्म यात्रा गर्दा गाडी भाडा न्युनतम् १४ रुपैयाँ तोकिएको छ । त्यसमाथि ५ किमीसम्म १६ रुपैयाँ, ६ किमीसम्म १७ रुपैयाँ, ७ किमीसम्म १८ रुपैयाँ, १० किमीसम्म २१ रुपैयाँ र १६ किमीसम्मको भाडा २५ रूपैयाँ छ ।

तर, सुन्दर यातायातले १० किमीसम्म न्युनतम् १४ र त्यो भन्दामाथि अधिकतम् १८ रुपैयाँ भाडादर प्रस्ताव गरेको छ । जुन फाइल यातायात मन्त्रालयमा महिनौंदेखि थन्किएको व्यवसायीको गुनासो छ ।

भाडादर सरकारले नै तोक्ने भएपनि विद्यमान भन्दा धेरै सस्तो पर्ने भएकाले आफूहरुले प्रस्ताव पेश गरेको सुन्दर यातायातका अध्यक्ष को भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय