छातीमा गोली ठोकिदिनुहोस, न्याय नपाए हामी बाँच्न सक्दैनौँ मर्न चाहन्छौँ-निर्मला पन्तका बुवा यज्ञराज पन्त

२०७५ भाद्र २८, बिहीबार १०:३६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्त, राज्यबाट न्याय नपाएको भन्दै पत्रकार सम्मेलनमै डाको छोडेर रोएका छन् । बिहिबार रिपोर्टर्स क्लबमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी सरकारबाट न्याय नपाएको भन्दै डाको छोडेर रोएका हुन्।

आफ्नी छोरी निर्मलाका बलात्कारी र हत्यारालाई सार्वजनिक गरेर कारबाहीको माग गर्दै मंगलबार उनी पत्नी दुर्गासहित मानवअधिकारकर्मीहरुसँग काठमाडौँ पुगेका थिए ।

बिहिबार दिउँसो पत्रकार सम्मेलनमा बोल्ने क्रममा गला अवरुद्ध भएपछि उनी डाको छोडेर रोएका थिए । बोल्दा बोल्दै रुन थालेका उनले आफूलाई सम्हाल्दै सरकारसँग न्यायको भिख माग्न काठमाडौँ आएको बताए ।

‘न्यायकै लडाइँमा कञ्चनपुरमा ठूलो आन्दोलन भयो, सरकारले गोली ठोक्यो, एक बालक शहीद भए तर पनि खै किन हाम्रो आवाज सरकारले सुने जस्तो लागेन त्यसैले न्यायको भिख माग्दै काठमाडौँ आएको छु, अब न्याय नपाएसम्म घर फर्कदैन,’ उनले भने ।

उनले सरकारले न्याय दिन नसके आफूहरुलाई पनि गोली ठोकेर हत्या गर्न आग्रह गरेका छन्। ‘एउटा बलात्कारीलाई पक्रन नसक्ने हो भने, सरकार हामीलाई भनिदिनुहोस हामीले सकेनौँ भनेर, त्यसपछि हाम्रो छातीमा गोली ठोकिदिनुहोस, न्याय पाउने हैन भने हामी बाँच्न सक्दैनौँ मर्न चाहन्छौँ,’ यज्ञले भने।

उनले आफ्नी छोरी निर्मला पन्तको हत्या घटनामा प्रहरीले प्रमाण नष्ट पारेर अपराधि बचाउन खोजेको आरोप लगाए ।

‘सुरुदेखि नै प्रहरीले प्रमाण नष्ट पारेको छ, छोरी हराएलगत्तै खोजबिनका लागि जान तम्तयार प्रहरी टोलीलाई माथिको आदेश भनेर खोजबिनका लागि जान रोकिएको छ, छोरी खोज्न गैइदिनुहोस भन्दा मलाई ती प्रहरीले नै माथिको आदेश भोलिमात्रै जाने भन्ने आयो भनेका छन्,’ यज्ञले भने को हो त्यो माथिबाट आदेश दिने ? त्यतातिर अनुसन्धान गरेको खोई ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय