म्यानमारकी नेत्री आङ सान सुकीले रोयटर्सका दुई पत्रकारलाई जेल जसाय दिने अदालतको फैसलाको बचाउ गरेकी छन् ।
रोयटर्सका दुई पत्रकार वा लोन र केयव सिओ ओलाई देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै म्यानमारको सवोच्च अदालतले भदौ १८ गते सात वर्षको जेल सजाय सुनाएको थियो ।
म्यानमारको अदालतको यो फैसला प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार रहेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला नेत्री सुकीले भने बचाउ गरेकी हुन् ।
दुई पत्रकार वा लोन र केयव सिओ ओले देशको कानुन उल्लंघन गरेको र उनीहरुमाथि भएको कारवाहीसँग प्रेस स्वतन्त्रताको कुनै सम्बन्ध रहेको सुकीले बताएकी छन् ।
रोहिङ्ग्या मुसलमान सम्बन्धी समस्या समाधानका लागि आफ्नो सरकारसँग राम्रो र फरक योजना रहेको पनि उनले बताएकी छन् । रोहिङ्ग्या समुदायमाथि भएको सम्भावित नरसंहारका बारेमा अनुसन्धान गर्दा उच्च सैन्य अधिकारीलाई पनि अनुसन्धानको घेरामा ल्याउन संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ ।
रोयटर्सका दुई पत्रकारले रोहिङ्ग्यामाथि भएको हिंसाको सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङ्ग गरिरहेका थिए । त्यस क्रममा देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै पत्रकारहरु वा लोन र केयव सिओ ओलाई बन्दी बनाएको थियो ।
प्रहरी अधिकारीले दिएको आधिकारिक कागजात लिएर फर्किरहेका बेला उनीहरुलाई गएको डिसेम्बरमा पक्राउ गरिएको थियो । पत्रकारहरुले भने आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताउँदै आएका छन् ।


