निर्देशक कृषा चौलागाईले जन्मदिनको अवसर पारेर न ‘पारस’ फिल्म निर्माण घोषणा गरिन । बुधबार साझ राजधानीमा आयोजित कार्यक्रमका फिल्म निर्माण घोषणा गरिएको हो । फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ ।

विशाल चौलागाईको लगानीमा निर्माण हुन लागेको यो फिल्मलाई सचिन लदियाले लेखेका हुन् । विशाल निर्देशक कृषाको भाई हुन् । सिनेमाको डिओपीमा पुरुषोत्तम प्रधान रहने छन् । यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’ र ‘पिताम्बर’मा सहकार्य गरेका थिए । उनीहरुको यो तेस्रो सहकार्य हो । निर्माता विशालको पनि यो टिमसँग तेस्रो नै सहकार्य हो ।
केपी फिल्मस्को व्यानरमा निर्माण हुने यो सिनेमा फागुनबाट छायांकनमा जानेछ । निर्देशक कृषाले यो सिनेमा एक्सन तथा लभ स्टोरी जनरामा निर्माण हुने बताइन् । ‘पारसको बारेमा भन्नुपर्दा पहिलो पटक नेपालमा आएर सचिन लदिया लेखन कार्य सुरु भएको छ,’ निर्देशक कृषाले भनिन्, ‘यहि हो अहिले जानकारी दिन मिल्ने । पछि भेट्ने फेरि बहानै हुँदैन ।’
यो सिनेमाको कलाकार तथा अन्य प्राविधिक पक्षको जानकारी विस्तारै दिँदै जान निर्देशक कृषाले बताइन् । ‘यो सिनेमालाई पुरुषोत्तम दाईले खिच्दै हुनुहुन्छ । मैले निर्देशन गर्दैछु । ‘पिताम्बर’मा भएको गल्ती ‘पारस’मा सुधारिने छ,’ उनले भनिन् ।
कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अथिति रहेका थिए । उनले निर्देशक कृषालाई जन्मदिनको शुभकामनासहित नयाँ सिनेमाका लागि शुभकामना दिए ।