दशैंको फूलपातीबाट प्रदर्शन हुन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ युट्युबमा सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको उक्त गीतमा आशिष अविरल र मेलिना राईको स्वर, दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत छ । गीत लोक लयमा आधारित छ ।
किरण थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र स्वस्तिमा खड्काको नृत्य रहेको छ ।
दीपेन्द्र के। खनालको निर्देशनमा बनेको फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ ।
सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्ममा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ । फिल्मको यसअघि सार्वजनिक ‘बेला बितेसी’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ ।


