बुटवलको पर्यटकीय स्थल हिलपार्कमा २ करोड लागतमा जनजाति संग्रहालय बन्ने

२०७५ जेष्ठ २६, शनिबार १४:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवलको पर्यटकीय स्थल हिलपार्कमा २ करोड लागतमा जनजाति संग्रहालय बन्ने भएको छ । संग्रहालय निर्माणका लागि हङकङमा रहेका नेपालीहरुको संस्था हिलपार्क सहयोग समिति हङकङले ४७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरी र बुटवल हिलपार्क परिषद्का अध्यक्ष भिम तुलाचनलाई बुटवल हिलपार्क सहयोग समिति हङकङका संयोजक हेमराज थापा, सह-संयोजक पुरन खड्का, कोषाध्यक्ष गणेशजंग राना लगायतले शनिबार संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै पर्यटनमन्त्री गिरीले जनजाति संग्रहालय निर्माणले हिलपार्कको पयर्टकयीय महत्व फराकिलो बन्ने बताए । उनले प्रदेश सरकारले समेत संग्रहालय निर्माणमा सक्दो वजेट छुट्टाउने आश्वासन दिए ।

हिलपार्क सहयोग समिति हङ्गकङ्गका अध्यक्ष हेमराज थापाले जनजाति संग्राहलयलाई देशकै नमूना बनाउन आफूहरुले रकम संकलन गरेेको स्पष्ट पार्दै संग्रहालय निर्माणसंगै सहयोगलाई निरन्तरता दिने बताए । सो अवसरमा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले जनजाति संग्रहालय निर्माणपछि हिलपार्कको मुहार फेरिने बताए ।

बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले हिलपार्कलाई बुटवलको समृद्धिसँग जोड्न आवश्यक रहेको बताए । संग्रहालयमा नेपालका सबै आदिवामसी जनजातिका मौलिक परम्परा, संस्कृति, भेषभुषा, रीतिरिवाजसँग सम्बन्धित वस्तुहरु राखिने छन् । संग्रहालय निर्माणको काम छिट्टै शुरु गरिने संयोजक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय