मतदानको दिन कुन सवारी साधनलाई पास चाहिदैन ?

२०८२ फाल्गुन १६, शनिबार १५:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रतिनिधिसभा सदस्य चुनाव २०८२ को मतदानको दिन २१ फागुन सवारी आवागमनलाई व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन केही सवारीसाधनलाई सवारी पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको छ ।

निर्वाचन आयोगले सवारीसाधन सञ्चालन सम्बन्धी कार्यविधि, २०८२ अनुसार नेपाल सरकारलाई सिफारिस गर्दै सम्बन्धित प्रयोजनका लागि मात्र प्रयोग हुने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास नचाहिने व्यवस्था गर्न आग्रह गरेको हो ।

आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक पर्ने छैन । यस्तै दूरसञ्चार, खानेपानी, विद्युत् तथा ढल मर्मतमा प्रयोग हुने सवारीसाधन पनि सोही श्रेणीमा पर्ने छन् ।

अस्पताल सेवाका सवारीसाधनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घर–अस्पताल आवतजावत गराउन, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रुलाई विमानस्थल र घर वा होटलसम्म लैजान प्रयोग हुने सवारीसाधनलाई पनि छुट दिइएको छ ।

त्यसैगरी हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, सानो बच्चासहितकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र उनका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि पास आवश्यक नपर्ने व्यवस्था गरिएको छ ।

नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षकले प्रयोग गर्ने सवारीसाधन, राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमनका लागि प्रयोग हुने सवारीसाधन तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि सो सूचीमा समावेश छन् ।

यसैबीच, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधिसहितको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ । सो डेस्कमार्फत काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सवारी पाससमेत वितरण भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय