मार्गशीर्ष कृष्ण त्रयोदशी। शुक्रबार पशुपतिनाथमा पितृका नाममा बत्ती बाल्ने दिन। श्रद्धालुले पशुपतिनाथ वरपरका भागमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने गर्छन्। जसको लागि बिहानै देखि पशुपतिनाथ मन्दिर परिसरमा पाल राखी ठाउ लिएर तयारी गरीरहेका छन् ।
चतुर्दशी बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ। मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ। बालाचतुर्दर्शीमा पशुपति क्षेत्रमा बत्ती बाल्नेसँग पशुपति क्षेत्र विकास कोषले शुल्क लिने भएको छ। कसैले बत्ती बालेर कुरुवा राख्न चाहे कोषको कर्मचारीले कुर्ने र दुई हजार एक सय शुल्क लिने ब्यवस्था गरेको कोषले जनाएको छ ।
सामान्यतया लगातार तीन वर्ष बत्ती बाल्ने र शतबीजरोपण गर्ने चलन छ। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।
बत्ती कुर्न बसेकाले गाउने बालन, भजन र दोहोरीले पशुपति आसपासका क्षेत्र गुञ्जायमान हुन्छ। पशुपति क्षेत्र विकास कोषले बत्ती बाल्ने र शतबीज छर्ने कार्यका लागि तयारी पूरा भएको बताएको छ ।
पञ्चाङ्गका अनुसार शुक्रबार ४ घडी ५ पला अर्थात् ८ बजेर १५ मिनेटसम्म मात्र त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी लाग्छ। शनिबार शतबीज छर्ने दिन बिहान ८ घडी २९ पला अर्थात् १० बजेर १ मिनेटसम्म चतुर्दशी छ। उम्रने सबै अन्नहरु मिसाएर पितृको नाममा सतबिज छर्ने गरीन्छ ।