नर्सरी व्यवसायीसंघले भृकुटीमण्डपमा तिहार फ्लोरा एक्सपो गर्दै

२०८० कार्तिक १३, सोमबार ०३:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नर्सरी व्यवसायी संघ नेपालले तिहारलाई मध्य नजर गर्दै ‘तिहार फ्लोरा एक्स्पो २०८०’को आयोजना गर्ने भएको छ । यही कार्तिक १४ गतेदेखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा ५ दिने तिहार फ्लोरा एक्स्पो हुने संघले जनाएको छ ।

उक्त एक्स्पोमा देशका विभिन्न स्थानमा नर्सरी व्यवसाय गर्नेहरुको सक्रिय सहभागिता रहने मेला संयोजक रविनकुमार गौतमले बताए । मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरूलगायत कृषि तथा वन, जडिबट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने छ ।

मेलामा ६० वटा व्यवसायिक स्टल रहने छ भने मलखाद, अगानिक एवं रसायनिक बिषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ ।

नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि मेलाले अवसर उपलब्ध गराउने संघले जनाएको छ ।

मेलाको आकर्षणको रूपमा प्रदर्शित फूल विरुवाको प्रस्तुतिको सम्बन्धित क्षेत्रको विज्ञ प्राविधिकद्वारा मूल्याङ्कन गराई शिल तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिने छ ।

साथै लामो समयदेखि नर्सरी व्यवसायमा क्रियाशिल व्यवसायीहरूमध्येबाट १ जनालाई सम्मानपत्रद्वारा सम्मान गरिनेछ ।

नर्सरी क्षेत्रमा आयातित वस्तुको प्रतिस्थापनको लागि बृहत लगानीबाट उत्पादनमा सक्रिय व्यवसायीहरूमध्येबाट १ जनालाई नगद, दोसल्ला तथा सम्मान पत्रबाट सम्मान गरिने कार्यक्रम रहेको संयोजक गौतमले जानकारी दिए ।

उक्त मेलामा कम्तीमा ३० हजार अवलोकनकर्ताले अवलोकन गर्नुको साथै ५० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको उनले बताए । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ विद्यार्थीहरूका लागि प्रतिव्यक्ति ५० रुपैयाँको व्यवस्था गरिएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले पुष्प नर्सरी, कृषि तथा वन नर्सरी, फलफूल नर्सरी र जडिबुटी नर्सरीका विषय क्षेत्रहरूलाई समेटी व्यवसायीहरूलाई सङ्गठिन गर्ने उद्देश्य लिएको जानकारी दिएको छ । नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सेनाले नर्सरी तथा फुल बिरुवाको संरक्षणको लागि कुनैपनि संस्था नभएकोले आफुहरुले नर्सरी ब्यवसायीसंघ मार्फत बिरुवा तथा फलफुलको संरक्षण गर्ने बताए । नर्सरी ब्यवसायीसंघले पहिलोपटक मेला गर्न लागेको हो ।

हालसम्म समग्र नर्सरी क्षेत्रको राष्ट्रिय रूपमा सङ्गठित संस्था नभएको तथा नर्सरी व्यवसायीहरूको हक, हित तथा अधिकारको सुनिश्चितताका साथै व्यवसायिक लगानी, सिप, क्षमताको विकास र विस्तार एवं प्रबर्द्धन गर्न सङ्गठित गर्ने छाता सङ्गठनको नभएको समग्र नर्सरी व्यवसायको विकास र विस्तार गरी स्वच्छ वातावरण सहित आय रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले नर्सरी व्यवसाय संघ, नेपालको स्थापना संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय