ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्यो

२०८० बैशाख २५, सोमबार १०:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टीको कोर टिमु ले साढे २ करोड पैसा मागेको र त्यसको व्यवस्थापन गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उनलाई सांसदबाट हटाएको थियो । त्यसरी गरिएको कारबाही कानुन सम्मत नभएको भन्दै श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए ।

श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समितिलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । अल्पकालीन अन्तरिम आदेश जारी भएको र अन्तरिम आदेशका लागि सर्वोच्चले छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय