गत आर्थिक वर्षमा मुलुकभर महिलामाथि १ हजार ३ सय १९ हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले नेपालमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाको विस्तृत विश्लेषण समेटिएको पुस्तक ‘अन्वेषी’ मा सबैभन्दा बढी ६६.७२ प्रतिशत (८८० जना) महिलामाथि घरेलु हिंसा भएको जनाइएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘अन्वेषी’वर्ष पुस्तकअनुसार ११.९८ प्रतिशत (१५८ जना) महिला सामाजिक हिंसाबाट, १०.८४ प्रतिशत (१४३ जना) महिला तथा बालिकामाथि बलात्कार, १.३६ प्रतिशत (१८ जना) माथि बलात्कारको प्रयास तथा ४.७० प्रतिशत (६२ जना) महिलामाथि यौन हिंसा भएको पाइएको छ ।

ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले संकलित १ हजार ३ सय १९ घटनाका करिब ६६ प्रतिशत घरेलु हिंसा तथा १२ प्रतिशत सामाजिक हिंसामा रहेकाे तथ्यांकले देखाएकाे बताए । उनले महिला घरभित्र र सार्वजनिक दुवै क्षेत्रमा उत्तिकै हिंसामा रहेको बताए ।

ओरेकका अध्यक्ष ज्योत्सना मास्केले तथ्यांकको दायरालाई फराकिलो पार्दै ‘अन्वेषी’मा यौन अल्पसङ्ख्यक, अपांगता भएका महिला, महिला स्वास्थ्यलगायत महिला आन्दोलनको विविधता समेट्ने प्रयास भइरहेको जानकारी गराइन् । ओरेकले ‘अन्वेषी’ सन् २००८ देखि प्रकाशन गर्दै आएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको दिन नै सोमबार ललितपुरको भैंसेपाटीस्थत नेपाल मेडिसिटी अस्पतालमा कार्यरत डा. रोहितकुमार झा पक्राउ परे । उनीमाथि स्वास्थ्य परीक्षणका लागि आएकी महिलालाई यौन हिंसा गरेको आरोप लागेको छ ।

यस्ता घटना दिनहुँ सार्वजनिक भइरहेका हुन्छन् । ती घटना सहर र गाउँ दुवै ठाउँमा हुने गरेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार २०७३ साल देखि २०७६ सम्म १२ सयभन्दा बढी महिलाहरु बलात्कृत भएका छन् ।

तीमध्ये १० वर्षमुनिका ७०६ जना बालिका बलात्कृत भएका छन् । जसमा ११ जना पीडक १० वर्षमुनिका बालक छन् । त्यस्तै, ११ देखि १६ वर्षका एक हजार ७६३ जना बालिका बलात्कृत भएका छन् । १७ देखि १८ वर्ष उमेर समूहका १४४ किशोर, २६७ किशोरी बलात्कृत भएको तथ्यांक छ ।

दैनिक ४० उजुरी

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार दैनिक ४० भन्दा बढी महिला हिंसाको उजुरी पर्ने गरेको छ । तीमध्ये काठमाडौं उपत्यकामा मात्र दैनिक २० भन्दा बढी उजुरी आउने गरेको छ ।

उजुरीमा कुटपिट, गाली बेइज्जत, घरनिकाला, खाना लगाउन नै नदिनेजस्ता हिंसाका पीडत बढी आउने गरेको तथ्यांक छ ।

आर्थिक वर्ष २०७५/७६ मा १४ हजार ७७७ वटा महिला हिंसाको उजुरी परेको थियो । तीमध्ये साढे सात हजार कुटपिट, गाली बेइज्जत करिव ५ हजार, खाना लगाउन नै नदिएको भन्दै ३ हजार ३१४ महिलाले उजुरी दिएका थिए ।

दैनिक पाँच बलात्कारको घटना

प्रहरीको तथ्याङ्कअनुसार हरेक दिन पाँचजना बलात्कृत हुने गरेको छ भने दुईजना माथि बलात्कार प्रयास हुने गरेको छ । पीडितमध्ये आधा बालबालिका रहेका छन् ।

बलात्कृत हुनेमा ६२ दशमलव ५ प्रतिशत बालबालिका हुने गरेको छ । जसमा ७९ प्रतिशत चिनजान र आफन्तबाट ६ दशमलव ७ प्रतिशत रहेको छ । बालात्कारको घटना आफन्त वा चिनजानका मासिनबाटै बढी हुने गरेको अध्ययनमा पाइएको प्रहरीले जनाएको छ ।

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.