पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाल चाैथाे पटक दक्षिण एसियाली खेलकुद (साग)को च्याम्पियन बनेकाे छ । १३औँ सागअन्तर्गत मंगलबार दशरथ रंगशालामा भएको फाइनलमाभुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल समग्रमा चाैथाे पटक साग च्याम्पियन बनेकाे हाे ।

यससँगै १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ स्वर्ण पदक जितेको छ ।

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समापन कार्यक्रम हेर्न टिकट लिन गएका सर्वसाधारणमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । मंगलबार बिहान प्रहरीले धरपकड गर्दै सर्वसाधारणमाथि कुटपिट गरेको हो । प्रहरीले सर्वसाधारणमाथि गरेको दुर्व्यवहारको फोटो खिच्ने पत्रकारलाई पनि कुटेको छ ।

प्रहरीले फोटो खिच्न लाग्दा खेल पत्रकार सुमन चापागाईंलाई कुटपिट गरी घाइते बनाएको छ । आज समापन भएकाले टिकट लिन धेरैको भीड थियो । प्रहरीले सर्वसाधारणलाई सम्झाउनुको साटो भीड गरेको भन्दै धरपकड गरेर कुटपिट गरेको थियो ।

१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत आज हुँदै गरेको पुरुष फुटबलको फाइनलको रिपोर्टिङका लागि दशरथ रंगशाला पुगेका पत्रकारलाई प्रहरीले कुटपिट र दमन गरेपछि पत्रकारहरू रंगशालाभित्रै प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले प्रहरीले आफूहरूमाथि गरेको हर्कत र दुर्व्यवहारको भर्त्सना गर्दै प्रहरीविरुद्ध नारा लगाएका छन् । साग मिडिया कक्षमै पत्रकारहरूले व्यानरसहित प्रदर्शन गर्दै ‘प्रहरी दमन मूर्दावाद’ भन्दै नारा लगाएका छन् ।