संयुक्त अरब इमिरेट्स यूएईमा अलपत्र ७ नेपाली त्यहाँस्थित नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका छन् ।

कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो ।

दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् । यीमध्ये ४ जना मंगलबार र ३ जना बुधबार स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

काठमाडौंको महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत यूएई आएका उनीहरु एक कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत थिए थिए । तर, कम्पनीले तलब नदिएर उनीहरुलाई अलपत्र बनाएको थियो ।

कम्पनीले अलपत्र पारेपछि पीडित कामदारले एक महिनाअघि समस्याबारे दूतावासलाई अवगत गराउँदै निवेदन दिएका थिए । पीडितको उजुरीपछि दूतावासले पहलकदमी लिएर नेपाल फर्काएको हो ।

नेपाल फर्कनेमध्ये ४ जनालाई कम्पनीले करार अवधि पूरा नभएको भन्दै जरिवाना समेत तिराएको छ । दुईवर्षे करार अवधि पूरा नभई फर्कनु परेकाले मेनपावर कम्पनी जिम्मेवार हुनुपर्ने पीडितको भनाइ छ । युएई पठाउने मेनपावरले भने समस्या समाधानमा प्रतिवद्ध रहेको जनाएको छ ।

मोरङका सन्तोष गुरुङले आफूहरुले पाउनुपर्ने पूरा तलब नपाएको गुनासो गरे । कम्पनीले १ महिनाको ८ सय दिराम तलब दिए पनि उल्टै जरिवाना गराएको उनले बताए । कम्पनीले दिएको पैसा खाना खान ठिक्क भएपछि साथीसँग ऋण लिएर घर फर्कन लागेको उनको भनाइ छ । उनीसँगै सानु, गया र इन्द्र आफैं टिकट काटेर फर्किएका छन् ।

अन्य ३ जनाको भने एकमहिनाको तलवबाट कटाएर कम्पनीले हवाईटिकट उपलब्ध गराएको छ । तर ६ महिनादेखि ओभरटाइम गर्दाको पैसा भने नदिएको बुटवलका हरिप्रसाद गैरेले जनाए । उनीहरु १० महिनादेखि उक्त कम्पनीमा काम गदै आएका थिए ।

यता दुवईमा रहेका अन्य ५ जनाले पनि नेपाल फर्कने जनाएका छन् ।